ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ साउन
थाइल्यान्डमा सम्पन्न ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्दै तीन स्वर्ण र एक रजत पदक जितेको छ। १६ देशका प्रतिस्पर्धी सहभागी भएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेको हो।
सहभागी टोलीले विभिन्न विधामा प्रभावशाली प्रस्तुति दिएको थियो। ‘एनडिए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान प्राप्त गर्दै दुई स्वर्ण पदक जित्यो भने जुनियर क्रु विधामा दोस्रो हुँदै रजत पदक पनि नेपाललाई दिलायो। त्यसैगरी ‘टिम एनटी’ले लोक नृत्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्को स्वर्ण पदक आफ्नो नाममा लेखायो।
खुला विधामा नेपाली टोली चौथो स्थानमा रह्यो।हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर नेपाली टोली थाइल्यान्ड पुगेको हो। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजको नेतृत्वमा गएको जम्बो टोलीमा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सउल’ र जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ सहभागी थिए।
प्रतियोगितामा नेपाली कलाकारहरूको प्रस्तुतिले निर्णायक, प्रशिक्षक र विभिन्न देशबाट आएका दर्शकको प्रशंसा बटुलेको थियो। कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डा फहरिँदा र राष्ट्रिय गान बज्दा नेपाली प्रतिनिधिमण्डल उत्साहित बनेको बताइएको छ।हलभित्र नेपालको राष्ट्रिय गान गुञ्जिँदा र राष्ट्रिय झन्डा फहराउँदा उपस्थित नेपाली प्रतिनिधिमण्डलको छाती गर्वले ढक्क फुलेको सो प्रतियोगिता हेर्न पुगेकी नेपाली नायिका परीक्षा लिम्बुले बताइन्। उनका अनुसार विश्वभरबाट आएका कला पारखीहरूले नेपाली डान्सरहरूको खुलेर तारिफ गरेका थिए।
यसअघि नेपालमा आयोजित ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टोलीहरू थाइल्यान्ड पुगेका थिए। प्रतियोगितामा नेपालका चर्चित कोरियोग्राफर जेडी तमू निर्णायकका रूपमा सहभागी हुनु अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ। विश्वका प्रतिष्ठित निर्णायकहरूसँगै उनको सहभागिताले नेपाली नृत्य क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनेको आयोजकले जनाएको छ।

