ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ साउन
नेपालको तर्फबाट आगामी ‘मिसेस युनिभर्स २०२६’ मा प्रतिनिधित्व गर्ने अवसर मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बाले प्राप्त गरेकी छन्। ललितपुरको झम्सिखेलमा आइतबार साँझ आयोजित ‘क्राउन सेरेमोनी’मा उनलाई आधिकारिक रूपमा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषणा गर्दै ताज पहिर्याइएको हो।
लन्डन फेसन हाउसको आयोजनामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य तथा मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीलाई ताज हस्तान्तरण गरेका थिए। अब उनले अक्टोबरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
डली गुरुङ याक्थुम्बा नेपाली विज्ञापन तथा फेसन क्षेत्रमा स्थापित नाम हुन्। उनी नेपालमा निर्माण भएको पहिलो टेलिभिजन भिडियो विज्ञापनकी भिजुअल मोडलका रूपमा परिचित छन्। २०४० र २०५० को दशकमा विज्ञापन र फेसन क्षेत्रमा सक्रिय रहेकी डलीले तेस्रो चरणको कोलोन क्यान्सरलाई पराजित गर्दै जीवनको अर्को अध्याय सुरु गरेकी प्रेरणादायी व्यक्तित्वका रूपमा पनि चिनिन्छिन्।
तीन सन्तानकी आमा डलीले यो उपलब्धिको श्रेय आफ्ना श्रीमान् निराकर याक्थुम्बा, छोराछोरी तथा सासू आमा इन्दिरा याक्थुम्बालाई दिइन्। क्यान्सरमाथि विजयपछि प्राप्त दोस्रो जीवनलाई महिलाको आत्मविश्वास र नेपाललाई विश्वमञ्चमा चिनाउने अभियानमा समर्पित गर्ने उनको प्रतिबद्धता छ। उनले मिसेस युनिभर्समा सहभागी हुँदै नेपाली महिलाको क्षमता, साहस र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने लक्ष्य सुनाइन्।
कार्यक्रममा आयोजक तथा मिसेस नेपाल युनिभर्सकी निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीको संघर्ष, अनुभव र आत्मविश्वासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, सहभागी र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै मिसेस नेपाल युनिभर्सको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाइन्।
तस्बिर – बद्री थापा, ब्युटी न्युज नेपाल

