ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ साउन
मदन पुरस्कार गुठीले प्रतिष्ठित मदन पुरस्कार–२०८२ का लागि अन्तिम प्रतिस्पर्धामा पुगेका १० उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ। यस वर्ष विभिन्न विधाका २९८ कृतिमध्ये मूल्याङ्कन प्रक्रियापछि उत्कृष्ट मानिएका पुस्तकहरू अन्तिम सूचीमा समावेश गरिएका हुन्।
अन्तिम छनोटमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी)को नेपाल समुदायका परम्परागत मुकन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद रहेका छन्।
गुठीले सार्वजनिक गरेको सूचीअनुसार अब यी १० कृतिमध्ये एक उत्कृष्ट कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ। नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट पुस्तकलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार लेखकहरूका लागि प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ।
यस वर्ष प्राप्त पुस्तकहरूमध्ये गुणस्तर, मौलिकता र साहित्यिक योगदानका आधारमा अन्तिम सूची तयार गरिएको जानकारी गुठीका अध्यक्ष कुन्द दीक्षितले दिएका छन्। पुरस्कार विजेताको घोषणा मूल्याङ्कन प्रक्रिया सम्पन्न भएपछि आगामी चरणमा गरिने जनाइएको छ।

