ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ साउन
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिने विषयमा सरकारको धारणा माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग स्पष्टीकरण माग गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार उनले संसद् सचिवालयमा मौखिक उत्तरका लागि प्रश्न दर्ता गर्दै उद्योगको परिभाषाभित्र कुन–कुन क्षेत्र समेटिन्छ भन्ने जिज्ञासा राखेका हुन्। साथै संगीत, खेलकुद र चलचित्रलाई उद्योगको रूपमा स्वीकार गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ दिन सरकारसँग आग्रह गरेका छन्।
साम्पाङले ती क्षेत्रलाई उद्योगको मान्यता दिइएको भए चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले कति बजेट विनियोजन गरेको छ भन्ने विवरणसमेत उपलब्ध गराउन माग गरेका छन्। उनका अनुसार सिर्जनात्मक तथा सांस्कृतिक क्षेत्रको आर्थिक योगदानलाई ध्यानमा राखेर सरकारले स्पष्ट नीति अवलम्बन गर्न आवश्यक छ।
प्रतिनिधिसभा नियमावलीले सांसदलाई सरकारको कार्यक्षेत्रभित्र पर्ने सार्वजनिक महत्वका विषयमा मौखिक वा लिखित प्रश्न सोध्ने अधिकार दिएको छ। संसद् सचिवालयले सम्बन्धित मन्त्रालयबाट उत्तर प्राप्त भएपछि प्रश्नोत्तरका लागि सूची प्रकाशित गर्ने व्यवस्था रहेको जनाएको छ। नियमअनुसार एक दिनमा सीमित संख्यामा मात्रै मौखिक र लिखित प्रश्न समावेश गरिन्छ भने समय अभावका कारण उत्तर दिन नसकिएका प्रश्नको लिखित जवाफ संसद्मा टेबुल गरिने प्रावधान रहेको छ।

