मिस युनिभर्स नेपाल नाम भए पनि अविवाहितसँगै विवाहित र तेस्रो लिँगीले भाग लिन पाउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ साउन

मिस युनिभर्स नेपाल २०२६ को आधिकारिक आवेदन प्रक्रिया शुक्रबारदेखि खुला गरिएको छ। काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा आयोजक संस्थाले यस वर्षको संस्करणका लागि अडिसन औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो। रमाइलो के भने यसको नाम मिस भए पनि यसमा विवाहित र तेस्रो लिंगीले पनि भाग लिन पाउने छन् । यसको मिस नाम केबल औपचारिकता मात्र हो भन्ने प्रतियोगीले बुझ्नु पर्ने हुन्छ । किनकी यो विवाहित, अविवाहित र तेस्रो लिँगी सबै महिलाको कार्यक्रम हो ।

आयोजकको भनाईमा आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिकता र सामाजिक उत्तरदायित्व बोकेका नेपाली विवाहित, अविवाहित महिला र तेस्रो लिंगीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिनेछ।

मिस युनिभर्स प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विशेष तयारी गरिएको आयोजकको दाबी छ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी सेप्टेम्बर मा काठमाडौँमा आयोजना हुने तय भएको छ।

आयोजकका अनुसार यस संस्करणमा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली विवाहित, तेस्रो लिँगी र अविवाहित युवतीलाई पनि प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गरिएको छ।

प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले सम्हाल्नेछन्। आयोजकले इच्छुक तथा योग्य नेपाली विवाहित महिला, तेस्रो लिँगी र अविवाहित युवतीहरूलाई आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दिन आग्रह गरेको छ।

यस संस्करणमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक अभियानप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमतालाई विशेष प्राथमिकतामा राखिने जनाइएको छ।