ब्युटी न्युज नेपाल
काठमाडौँ, २० असार
विगत ६ महिना अघि स्थापना भएको सौन्दर्य उद्यमी संघ नेपाल पछिल्लो समय निकै सक्रिय हुँदै आएको छ । यसै क्रममा सौन्दर्य उद्यमी संघ नेपालले आज शनिवार काठमाडौँको त्रिपुरेश्वर स्थित बोगन भिल्ला पार्टी भेन्युमा एक दिवसीय ब्युटी सेमिनार आयोजना गर्यो ।
सौन्दर्य उद्यमी संघ नेपालकी अध्यक्ष एवम् वरिष्ठ ब्युटिसियन सोनी कारंजितको सभापतित्वमा यो ब्युटी सेमिनार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् समाजसेवी ज्ञानु श्रेष्ठले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै समाजसेवी ज्ञानुले सेमिनारको सफलताको कामना गरे । उनले सौन्दर्य उद्यमी संघ नेपालको वर्तमान कार्यसमितिको सफल कार्यकालको कामना गर्दा यस्तो ब्युटी सेमिनारहरूले ब्युटिसियनहरूलाई नयाँ नयाँ प्रविधि र कला सिक्ने अवसर मिल्ने विश्वास व्यक्त गरे ।

सौन्दर्य उद्यमी संघ नेपालकी अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यकर्मी सोनी कारंजितले समारोहमा स्वागत मन्तव्य राख्दै संघ स्थापनाको उद्देश्यबारे प्रकाश पारिन् । कस्मेटोलोजिष्ट परिषी कारंजितको प्रमुख प्रशिक्षणमा आयोजना हुँदै गरेको ब्युटी सेमिनारमा धेरैतिरबाट सहभागी हुनेको फोन आए पनि आफूहरूले ४०० जना भन्दा बढी समेट्न नसकेको बताइन् । आउँदा दिनमा अर्को सेमिनार आयोजना गरेर छुटेकाहरूलाई अवसर दिने प्रतिबद्धता पनि उनले जनाइन् ।
समारोहमा विशेष सुरक्षाकर्मीका साथ प्रस्तुत भएकी युवा सौन्दर्यकर्मी एवम् कस्मेटोलोजिष्ट परिषी कारंजितले प्रमुख प्रशिक्षकको रूपमा ‘स्किन एनाटोमी थेउरी क्लास’ दिइन् । समारोहमा कस्मेटोलोजिष्ट परिषीले करिब दुई घण्टासम्म स्किन र हेयरबारे सैद्धान्तिक विषयमा प्रशिक्षण दिइन् । सो क्रममा उनले स्किन र हेयरको बनौट, प्रकार, हेरचाह र स्वास्थ्यको बारेमा प्रकाश पारिन् । यसपछि कस्मेटोलोजिष्ट परिषीले प्रयोगात्मक कक्षा अन्तर्गत लेजर मेसिनको प्रयोगबारे जानकारी गराइन् । लेजर मेसिनबाट स्किनमा लेजर ट्रिटमेन्ट कसरी गर्ने भन्दै उनले प्रयोगात्मक रूपमा सेमिनारमा सिकाइन् । समारोहमा कस्मेटोलोजिष्ट परिषीले प्रयोगात्मक कार्बन फेसियल पनि सिकाइन् ।
गायिका विष्णुमाया पौडेलले सञ्चालन गरेको सो समारोहको मुख्य प्रायोजक केराटिन नेपाल रहेको थियो । समारोहमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ की विजेता, मेकअप तथा नेल आर्ट आर्टिस्ट मनीषा श्रेष्ठ (कमला)ले जेलेक्स नेल एक्टेन्सनबारे थेउरी र प्रयोगात्मक प्रशिक्षण दिइन् । उनी सो सो सेमिनार आयोजक संस्था सौन्दर्य उद्यमी संघ नेपालकी सचिव पनि हुन् ।
यस्तै सो समारोहमा सौन्दर्य उद्यमी संघ नेपालकी उपाध्यक्ष एवम् ब्युटिसियन स्मृति सुब्बाले पर्मामेन्ट ल्यासेस सिफ्टिङ र हेयर एक्सटेन्सन सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइन् । उक्त ब्युटी सेमिनारमा अग्रज ब्युटिसियन सिता श्रेष्ठले प्रयोगात्मक रूपमा मोल रिमुभ (कोठी, मुसा हटाउने कार्य)बारे प्रशिक्षण दिएकी थिइन् । सेमिनारको समापनमा सौन्दर्य उद्यमी संघ नेपालकी अध्यक्ष एवम् वरिष्ठ ब्युटिसियन सोनी सोनी कारंजित र कस्मेटोलोजिष्ट पारिषी कारंजितले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

