‘मोडल हन्ट नेपाल २०२६’मा अन्तिम प्रतिस्पर्धामा ४२ मोडल


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असार

उदयमान नेपाली मोडलहरुको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ महिला र १६ पुरुष गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । अहिले उनीहरु प्रशिक्षणमा छन् । प्रतियोगीताको फाइनल २४ जुलाई अर्थात साउन ८ गते आयोजना हुनेछ ।

प्रतियोगीताको यो १० औं सिजन हो । छानिएका प्रतियोगीहरु एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा छन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइँदै छ । प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेब्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजकको दाबी छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाले बताए ।