चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा २२ चलचित्र


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ बैशाख

यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ हुने भएको छ । यो महोत्सव रसुवको गोसाईकुण्ड गाउँपालिकामा हुन लागेको हो । आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यो महोत्सव हुने भएको छ । अफिसियल सेलेक्सन भएका चलचित्रलाई मंगलबार काठमाडौँमा एक समारोहबचि सेलेक्सन सर्टिफिकेट प्रदान गरियो । नेपाल पर्यटन बोर्ड काठमाडौँमा प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीसहित निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,बरिस्ट पत्रकार शान्तीप्रिय,चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष कुवेर गिरीलगायतले ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन गरे ।

यस महोत्सवमा गाउँको कथाबस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ४ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए । यो महोत्सवमा ६ वटा कथानक चलचित्र र १६ वटा लघु चलचित्र एवम् लघु वृत्तचित्र चयन भएको पनि सापकोटाले जानकारी गराए । यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिने छ । जसबाट उत्कृष्ट चयन गरेर विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

अध्यक्ष सापकोटाका अनुसार महोत्सवमा फिचर चलचित्रतर्फ केकी अधिकारीको बोक्सीको घर, आर्यन सिग्देल, प्रदीप खडकाको पुजार सार्की, जितु नेपालको ज्वाईँ साब, मिलन चाम्स र एन्जिला तुम्बापो सुब्बाको अञ्जिला, ऋषिराज आचार्यको द्रौपदी र नवीन भट्ट तथा मनोज अधिकारीको फिरफिरे फिरिरि रहेका छन् ।

यस्तै चौथो ग्रामीण चलचित्र महोत्सवमा लघु चलचित्र एवम् लघु वृत्तचित्रतर्फ मोहन अधिकारी निर्देशित एक जोर जुत्ता, पुरुषोत्तम बस्नेत निर्देशित घटेरो, सविर श्रेष्ठको माझी, अरुण प्रधानको माता, निर्मल पौडेलको म कमरेड, विवेक नगरीको शल्यक्रिया, राजु गुरुङको मनको घर, विकास लामाको विजेता रहेका छन् । यस्तै शंकर धितालको देविया, नितिन चन्दको प्याकुली, देबेन्द्र पाण्डेको जुनेली, आकाश थापाको गल्कोट, लव प्याकुरेलको गल्र्स रि राइटिङ डेस्टिनी, अजय स्याङ्तानको आप्लेंग्ला लाम्ला, सागर सुब्बाको लोजिमा र युवराज खत्रीको लघु चलचित्र दुरान रहेको छ ।

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दिनेश डिसीले ’नेपाल ग्रामिण चलचित्र महोत्सवको नाम नै बिशेष रहेको र नेपाली सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई उनिहरुकै ठाउँमा पुगेर सिनेमा देखाउने भएकोले यो महोत्सवको फरक महत्व हुने गरेको बताए ।

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हजारौ दर्शकको उपस्थिती रहेको थियो । दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा कार्यक्रम सम्पन्न भएको थियो । तेश्रो बर्ष रामेछाप नगरपालिकामा कार्यक्रम गरिएको थियो भने यस पटक गोसाईकुण्ड गाउँ पालिका धुन्चे,रसुवामा गरिने सापकोटाले बताए । महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् । महोत्सवमा चलचित्र निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा जुरी कमिटि रहेको छ । जुरीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ रहेका छन् । चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवसंगै गोसाईकुण्ड गाउँपालिका धुन्चे, रसुवामा गाउँपालिका अध्यक्षकप भलिवल प्रतियोगिता पनि संचालन हुँदैछ । यस पटक महोत्सवको समापनमा सांगीतिक कार्यक्रम समेत हुनेछ ।