कुमा सागरलाई अपमानित गर्दा विवादमा सजन श्रेष्ठ, प्रहरीमा उजुरी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ माघ

गायक कुमा सागरको बारेमा आफूले गरेका मानहानि विरुद्ध कमेडियन पोडकास्ट सञ्चालक सजन श्रेष्ठले माफी मागेका छन् । सस्तो कमेडी गर्दा अर्काको कमजोरीलाई ब्यँग गर्ने र मानहानि गर्ने पुरानै पाराको कारण यस पटक सजन श्रेष्ठले कानुनी फन्दा समेत भोग्नु परेको छ । जसका कारण उनले सोमबार कुमा सागर र उनका फ्यानसँग माफी मागेका छन् ।

सजन श्रेष्ठ, सुजन जिम्मा र उत्सव सापकोटाबिच प्रोडकास्टमा भएको  कुराकानीमा सजन श्रेष्ठले भक्तपुरको गायक कुमा सागरलाई मोकिङ गरेपछि अर्थात् खिसी ट्याउरी गरेपछि केही दिन यताबाट विवाद बढेको थियो । आफ्ना प्रिय गायकको मान मर्दनमा मानहानि गरेको भन्दै कुमा सागरका प्रशंसक एवम् आफन्तहरूले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी समेत दिए । सो उजुरीपछि आज कमेडिएन सजन श्रेष्ठले माफी मागेका छन् ।

सजनले सुजनको पोडकास्टमा सुजन र उत्सवसँग कुरा गर्दा कुमा सागरले गाएको एउटा गीतको शब्दलाई दुईअर्थी मात्र नभएर अश्लील शब्द नै बनाइदिएका छन् । यति मात्र हैन, उनले कुमा सागरले लगाएको चस्मामाथि व्यङ्ग्य गरेर कुमाको अपहेलन समेत गरेका छन् ।

भक्तपुरका कुमाले नेपाली भाषा बोल्दा आउने स्थानीय लवजलाई सजनले पोडकास्टमा खिसी टेउसीसँगै मान मर्दन गर्दा सुजन र उत्सबले पनि उनलाई साथ दिएका छन् । भ्वाईस अफ नेपालको दोस्रो सिनजमा गीत प्रस्तुतपछि लामलाईटमा आएर आफ्ना विभिन्न गीतमार्फत धेरै प्रसंसक कमाएका कुमालाई यसरी मिडियाबाटै मानहानि र बेइज्जती गरेपछि सजन विरुद्ध प्रहरीमा उजुरी परेको हो । कुमाका प्रसँसक रबी शाक्य, निरज शाक्य, इन्द्र प्रसाद श्रेष्ठ, प्रसान्त श्रेष्ठ, नविन सिंहलगायत विभिन्न व्यक्तिहरुले प्रहरीमा उजुरी दिएका हुन् ।

यसरी आफु बिरुद्ध उजुरी परेपछि यो विषयमा सजनले सोमबार नै सार्वजनिक रूपमा माफी मागेको भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन् । कुमा सागर मात्र हैन, सजनले विभिन्न मानिसहरूको कमी कमजोरीको व्याँग्य र क्यारिकेचरको आडमा धेरैको मानहानि गर्दै आएको पनि प्रहरीमा उनीहरुले दिएको उजुरीमा उल्लेख छ ।

सजनले कुमा माथि अपमानित रुपमा मोकिङ अर्थात व्याँग्य गरेकै कारण यति बेला कुमाका कैयौँ प्रशंसकहरूले सामाजिक सञ्जालमा सजनको टिका टिप्पणी गरेका छन् । आउँदा दिनमा अर्काको रियाक्सन र मोकको नाममा सजनले गर्ने अपहेलनले उनलाई अझ धेरै समस्या आई पर्ने पनि दर्शकहरूको प्रतिक्रिया छ । सजनलाई हदैसम्म कारवाही हुनुपर्ने धेरैको माग रहेको छ ।

सजनले सामाजिक सञ्जाल मार्फत माफी मागिसक्दा पनि कुमाका प्रशंसकहरूले प्रहरीमा दिएको उजुरी फिर्ता लिएका छैनन् । सजनमाथि मात्र नभएर पोडकास्टमा कुमाको अपमान गर्ने सुजन र उत्सब माथि पनि कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ । यो उजुरीमा प्रहरीले यतिबेला छानिविन गरिरहेको छ ।

सजनले भने सामाजिक सञ्जालमा माफी माग्दै आफुले बोलेको सो भिडियो हटाएको पनि दाबी गरेका छन् । आफु कुमाको प्रसँसक रहेको र उनको मानहानी गर्ने आफ्नो उदेश्य नरहेको पनि उनले माफीका क्रममा बताएका छन् ।