महाराजधिराजको फस्ट लुक्स, फेरी पल शाहलाई विकर्षण बनाउने काम


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ माघ

पछिल्लो समय अभिनेता प्रदीप खड्काको एकपछि अर्को चलचित्र खोसिएको थियो । तर यसैबिच उनको मुख्य भूमिकामा नयाँ चलचित्र महाराजधिराज निर्माणको घोषणा गरिएको छ । माघे सङ्क्रान्तिको अवसरमा पारेर यो चलचित्रको एडल्ट फस्ट लुक्स पनि मङ्गलवार सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा यो चलचित्रको निर्माण गर्न लागिएको हो ।

चलचित्रको स्लोगन ‘अनेकौँ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा राजा र रङ्क गरी दुई चरित्रमा उतारिएको छ । राजा पनि राजगद्दी खोसिएपछि र सम्पत्ति सकिएपछि रँकमात्र हैन, सडकमा जोगी नै बन्दछन् भन्ने अवधारणामा यो चलचित्र निर्माण हुन लागेको फस्ट लुक्सले सङ्केत गर्छ ।

केही समय यताबाट राम्रो गर्न खोज्दा पनि दर्शकको नजरमा राम्रो नदेखिएका पल शाहलाई यस अघि चलचित्र रावायणको दारी र यस पटक महाराजधिराजको नग्न तस्बिरले दर्शकमाझ विकर्षण तुल्याएको छ । महाराजधिराको पहिलो पोस्टरकै नग्न तस्बिरले पहिलो गाँसमा ढुङ्गा लागेको प्रतिक्रिया दर्शकबाटै आएको छ । पललाई दर्शकहरूले यस्तो नग्न हैन, सुन्दर रूपमा देख्न चाहेका प्रतिक्रिया दिन थालेका छन् ।

चलचित्र भित्रका नग्न दृश्यलाई पोस्टरमा अब यो टिमले नल्याउने विश्वास दर्शकको छ । किनकि फिल्म भित्रको नग्नतालाई सेन्सरले काट्न सक्छ । तर पोस्टर को नग्नतामा सेन्सर लाग्दैन ।

महाराजधिराजका प्रस्तुत कर्ता बिराज विष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । चलचित्र बुलाकीले व्यावसायिक भन्दा कलात्मक रूपमा चर्चा पाएको थियो । तर प्रेमगञ्जबाट निर्देशन सेनले आफूले खिचेको चलचित्रलाई खिचेको जति सबै देखाउने र पटक्कै सम्पादन गर्न नचाहने निर्देशकको रूपमा टिप्पणी सहनु परेको थियो । चलचित्रको लागि खिचेको सबै देखाउने जस्ता आफ्ना विगतका गल्तीलाई उनले आउँदा दिनमा चलचित्रमा उनले सुधार्ने आशा गरौँ ।

यो चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रबी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।