ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुस
नेपाली चलचित्र ‘कार्साङ’ शुक्रबारबाट नेपालका सिनेमा घरहरुमा रिलिज भएको छ । यो चलचित्रलाई नव निर्देशक यम शेर्पाले निर्देशन गरेका हुन् ।
शेर्पा संस्कृतिमा आधारित यो चलचित्र मुलुकका ८ दर्जन भन्दाबढी चलचित्र घरमा रिलिज भएको यसका निर्देशक यम शेर्पाले बताएका छन् । चलचित्र कार्साङको शुक्रबार बिहान करिब ७० प्रतिसत अक्युपेन्सी हलमा थियो । दिउँसोबाट धेरै ठाउँमा हाउसफुल भएको पनि उनले बताएका छन् । उनका अनुसार यो चलचित्र आउँदै गरेको माघे सक्रान्तिको अबसर पारेर शुक्रबार रिलिज गरिएको हो ।
चलचित्र कार्साङमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् ।
यो चलचित्रमा शेर्पा समुदायको विभिन्न संस्कृतिलाई प्रस्तुत गरिएको छ । संस्कृतिसँगै चलचित्रमा मानवीय र अन्य प्राणीबीचको सम्बन्ध र समवेदनालाई पनि उठान गरिएको छ । चलचित्रमा गरिवीले निम्त्याउने समस्या पनि प्रस्तुत छ । अभावमा बाँचिरहेको व्यक्ति आफ्नै गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ ।