ब्युटी न्युज नेपाल
काठमाडौं, ८ पुस
गोल्डेन नेपाली सिनेमा अवार्ड अमेरिकाको पहिलो संस्करण सन फ्रान्सिस्कोमा सम्पन्न भएको छ । समारोहमा अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ । नेपाली चलचित्र क्षेत्रमा चार दशक भन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै उनलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको आयोजक पक्षले जनाएको छ ।
गत वर्ष ०८० साउन १ देखि २०८१ साल असार मसान्तभित्र रिलिज भएका र आयोजकलाई उपलब्ध गराइएका सिनेमाको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको आयोजक पक्षले जनाएको छ । यसरी २०८१ असार मसान्तसम्म रिलिज भएका नेपाली चलचित्रबीच भएको प्रतिस्पर्धामा दिनेश रावत निर्देशित ‘पूजार सार्की’ सर्वोत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । यस्तै नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ले क्रिटिक्स अवार्ड पाएको छ भने केकी अधिकारी निर्मित चलचित्र ‘बोक्सीको घर’ले जुरी अवार्ड पायो ।
चलचित्र पूजार सार्कीबाट दिनेश राउतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए भने चलचित्र फर्की फर्कीबाट अनमोल केसीले उत्कृष्ट अभिनेता र डिग्री माइलाबाट आँचल शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड, ै चलचित्र अगस्त्यबाट प्रमोद अग्रहरि सहअभिनेताको अवार्ड, परदेशी २ बाट वर्षा सिवाकोटी सहअभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।
सो समारोहमा अभिनेता प्रदीप खड्काले पुजार सार्कीबाट पपुलर अभिनेता र केकी अधिकारीले बोक्सीको घरबाट पपुलर अभिनेत्रीको अवार्ड हाँसिल गरे । निर्देशक दीपेन्द्र लामाले ‘नांगो गाउँ’बाट लेखकको अवार्ड, नांगो गाउँबाटै आलोक शुक्लाले सर्वोत्कृष्ट छायांकार, उपहारबाट मित्र डी गुरुङले सम्पादनको अवार्ड हाँसिल गरे ।
यस्तै चलचित्र बोक्सीको घरबाट प्रकाश सपुत ले संगीतकारको अवार्ड, नांगो गाउँबाट एसडी योगीले गायकको अवार्ड, बोक्सीको घरबाट समिक्षा अधिकारीले गायिकाको अवार्ड पाए ।
हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा अवार्ड सम्पन्न भएको हो । यो अवार्डको निर्णायकमा अभिनेताद्धय शिव श्रेष्ठ, सुनिल थापा, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, छायांकर गौरीशंकर धूजु श्रेष्ठ, कलाकार सुनिल कटुवाल र रंगपत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी थिए ।
यो अवार्ड समारोहमा सहभागी हुन नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, सुनिल थापा, अनमोल केसी, केकी अधिकारी, आँचल शर्मा, केदार घिमीरे, जितु नेपाल, नीति शाह, वर्षा सिवाकोटी, अर्जन जंग शाही, उज्जल पौडेल, मदुकुमार श्रेष्ठलगायतका कलाकार अमेरिका पुगेका थिए ।