पूर्णिका बनिन यस वर्षको फेस अफ क्लासिक डाइमन्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मंसिर

गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको उपाधि पूर्णिका सिजापतिले जितेकी छिन् । ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को हिजो सम्पन्न ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी छन् । फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् ।

विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्नेछन् । फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन् । क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।

देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडललाई करिब एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो। उनीहरूमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेताहरू घोषणा गरिएको हो ।

प्रतियोगिताको निर्णायक प्यानलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी रेहान शाहले गरेका थिए ।

क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनका अनुसार यो प्रतियोगिता नेपालका फेशन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउन र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन योगदान पु¥याउँदै आएको छ। यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लाम, र मुना गौचनजस्ता प्रतिभाहरूले यो प्रतियोगिताबाट आफ्नो करियरलाई उच्च स्थानमा पुर्याएको पनि महर्जनले बताएका छन् ।