बैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको परिवारलाई अब १० लाख रुपैयाँ राहत


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

श्रम स्विकृति लिएर वैदेशिक रोजगारी गएका नेपालीले रोजगारीको क्रममा मृत्यु भएमा उनका परिवारले राज्यबाट १० लाख रुपैयाँ राहत पाउने भएका छन् । बैदेशिक रोजगारीका क्रममा यस अघि मृत्यु भएका नेपाली श्रमिकका परिवारले ७ लाख रुपैयाँ राहत पाउँदै आएका थिए । २०६४ सालमा बैदेशिक रोजगार बोर्ड स्थापना भएपछि त्यसको केही वर्षपछिदेखि सो बोर्ड मार्फत बिदेश जाने श्रमिकबाट जनही १ हजार रुपैयाँ लिने गरिन्थ्यो । सोही बोर्डमा जम्मा भएको रकमबाटबिदेशमा मृत्यु भएका नेपाली श्रमिकको शबलाई नेपाल ल्याउन आर्थिक सहयोग गरिन्थ्यो ।

सोही कोषबाट केही वर्ष यतादेखि बैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई नेपाल सरकारले आर्थिक सहयोग सहयोग सुरु गरेको थियो । यस अघि प्रति मृतकको परिवारले पाउँदै आएको ७ लाख रुपैयाँमा यतिबेला बृद्धि गरेर १० लाख पुर्याईएको हो । यही १८ असोजको मन्त्रिपरिषदको बैठकले वैदेशिक रोजगार नियमावली संशोधन पारित गर्दै बैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको परिवारले पाउने आर्थिक सहायता रकममा वृद्धिको निर्णय गरेको हो ।

हाल सरकारले मृतकको दुई जना सन्तानका लागि वार्षिक ८ हजार छात्रवृत्ति दिँदै आएको छ । यो रकम पनि निकै कम भएकाले मृतकका सन्तानलाई दिदै आएको छात्रवृत्ति पनि बढाउनु पर्ने बैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारको माग रहेको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार नेपालबाट वार्षिक साढे सात लाख श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । २०६५ सालबाट हालसम्म बैदेशिक रोजगारीमा गएका १३ हजार भन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

पछिल्लो तीन आर्थिक वर्षमात्र बैदेशिक रोजगारीमा रहेका ३ हजार ८ सय श्रमिकको ज्यान गएको छ । बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । यस्तै आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाएका छन् ।