दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असोज
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई उनको निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गर्दै गर्दा ४ असोजमा प्रसाईंले काठमाडौंमा हड्तालको तयारी समेत गरेका थिए । तर उनको हड्ताल अभियान सफल भएन ।
विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई आईतबार पक्राउ गरेको छ । साईबर ब्युरोबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।