कास्कीमा एक परिवारका ७ जनासहित ११ जनाको पहिरोमा पुरिएर मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

यतिबेला जताततै बाढी पहिरोले वितण्डा मच्चाई रहेको छ । यही क्रममा अविरल वर्षाका कारण पहिरो खस्दा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । तीन फरक ठाउँमा पहिरोमा पुरिएर भएका घटनामा ११ जनाले ज्यान गुमाएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१९ मा सात जना, पोखरा–३२ मा तीन जना र मादी गाउँपालिका–११ मा एक जनाको मृत्यु भएको छ । पोखरा–१९ को घटनामा परेर ४७ वर्षीय कुलबहादुर परियार, श्रीमती ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया आमा लक्षिमा परियार, २० वर्षीया प्रभा परियार, छोरी १५ वर्षीय प्रशना परियार (विवाहित) र ज्वाइँ २५ वर्षीय अस्मित परियार र ५६ वर्षीय राधिका परियारको मृत्यु भएको हो ।

घटनामा राधिकाका छोरा ४० वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएका छन् । उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यस्तै, पोखरा–३२ चैनपुर बाह्रबिसेमा ४० वर्षीय आरती ओझाको घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । उनका छोरीहरू १८ वर्षीय अनिता, ११ वर्षीय अनुष्का ओझा र आरतीका दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदीले ज्यान गुमाए । आरतीको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।