ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर
यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ बिजयी भएका छन् । उनको बिजयसँगै एमालेलाई प्रतिनिधि सभामा दोश्रो सिट हाँसिल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई हराउँदै कृष्णगोपालले ११ हजार ९५६ मत ल्याएर विजय हाँसिल गरेका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरे ।
नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ पञ्चायती व्यवस्था विघटनपछि काठमाडौंमा लगातार आठौं पटक संसदीय निर्वाचन लड्न पाउने नेता बनेका छन् । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बने । २०४९ सालमा काठमाडौंका दुई क्षेत्रबाट विजयी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले छाडेको क्षेत्र नं. ५ को उपनिर्वाचनमा श्रेष्ठ विजयी भएका थिए ।
२०७० सालको निर्वाचनपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचन (२०७१) मा भने उनी पराजित भए । त्यस्तै, २०५६ को संसदीय तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भए ।