पार्टीको निर्देशन नमान्दा प्रदेशसभा सांसद कृष्ण थापाको पद गयो


ब्युटी न्युज नेपाल
पोखरा, २० जेठ

आफुले सांसद पद जितेको पार्टी राष्ट्रिय जनमोर्चाको निर्देशन उलँघन गरेर एमालेलाई समर्थन गर्दै सरकार बनाउने सहयोग गर्ने गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खोसिएको छ । उनलाई पार्टीले पदमुक्त गरेको छ । सांसद थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको छ ।

यस अघि राष्ट्रिय जनमोर्चाले नेकपा एमालेबाहेकको दलको सरकारमा बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताएका थिए । सोही अनुसार उनले पार्टीको निर्देशन उलँघन गर्दै एमालेको पृथ्वी सुब्बा गुरुङको सरकारलाई समर्थन गरेका थिए ।

बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए । त्यसपछि यी सांसदले कालो निलो अनुहार बनाएका छन् । पार्टीको कुरा नमान्दा यी सांसदको पदच्युत भएको छ ।

थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिएका छन् । उनका अनुसार थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरिएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् ।