गोली लागेर घाइते भएका माओबादी नेता पाण्डेको निधन


ब्युटी न्युज नेपाल
रुपन्देही ११ जेठ

गोली लागेर गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेको निधन भएको छ । पाँच दिनअघि उनी र भारतीय नागरिकमाथि गोली प्रहार भएको थियो । स्वास्थ्य अबस्था बिग्रिएपछि थप उपचार गर्न हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् ।

तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।

प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् । व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।