ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन
कोरोना सँक्रमणबाट थप ४ जनाको नेपालमा निधन भएको समाचार हामीले आज मध्यान्नमा प्रकाशन गरिसकेका थियौं । त्यसपछि पनि फेरी ७ जनाको मृत्यु कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा भईसकेको छ । यसरी पछिल्लो २४ घन्टामै नेपालमा ११ जनाको कोरोनाबाट ज्यान गएको छ ।
जसमध्ये कोरोना सँक्रमणबाट बारा, कलैयाका ७७ वर्षीय पुरुषको बुधबार विहान ललितपुरको किष्ट अस्पतालमा निधन भएको छ । उनलाई शिक्षण अस्पतालबाट त्यहाँ रिफर गरिएको थियो ।
विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको कोरोना सँक्रमणबाट बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भयो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए ।
चार दिनदेखि ज्वरो आएका सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण मंगलबार पुष्टि भएको थियो । उनलाई आइसोलेसन सेन्टर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनको बुधबार दिउँसो काठमाडौंका आर्यघाट स्थित शाबदाह गृहमा सेनाको उच्च सतर्कतामा दहसँस्कार गरियो । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
सोमबार उपचारका क्रममा राम जानकरी अस्पतालमा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
बाराको बिश्रामपुर–५ का ३८ वर्षीय मृतक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका थिए । मृत्युपछि कोरोना टेस्ट गर्दा सँक्रमण देखिएको हो । स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले ११ मध्य ८ जनाको मृत्युको आज दिउँसो पुष्टी गरिसकेको छ ।