कोरोना सँक्रमित घट्दै, आज १०८ जनामा कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, २५असार

केही दिन यताबाट नेपालमा कोरोना सँक्रमितकोसँख्या घटीरहेको छ । गत साता एकै दिन ७ सय जनामा कोरोना देखिएकोमा यो साता घटेर दैनिक १ सय जनामा कोरोना देखिन थालेको छ । यसै क्रममा बिहीबार नेपालमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा १०८ जनामा कोरोना देखिएको बताए । गौतमका अनुसार ४ हजार ५८८ वटा पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा संक्रमण देखिएको हो ।

बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५र ५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४र४ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले बताए । यसैगरी बागलुङ र दैलेखमा ३र३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २र२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १र१ जनामा संक्रमण भएको पनि उनले बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

यस्तै आज बिहीबार १३९ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताए । योसँगै हाजसम्म विभिन्न अस्पतालबाट ७ हजार ८९१ जना कोरोना संक्रमण ठिक भएर घर फर्किसकेका छन् । यस्तै आज मुलुकका विभिन्न क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका र विभिन्न अस्पतालको आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जनाको उपचार भईरहेको पनि डा. गौतमले बताए ।

यस अघि ७७ जिल्लामै कोरोना देखिएकोमा नेपाल बिहिबारसम्म ५ वटा जिल्ला कोरोना मुक्त भएको छ । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला रहेका छन् । यी जिल्लामा कोरोना संक्रमणका एक जना पनि बिरामी छैनन् । यस्तै कोरोनबाट नेपालमा ३५ जनाको मृत्यु भएको छ ।