आज थप २७८ मा कोरोना, नेपालमा सँक्रमित २९१२ पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ जेठ

नेपालमा आज फेरी २७८ जनामा कोरोना सँक्रमण देखिएको छ । यो सँख्यासँगै नेपालमा कोरोना सँक्रमणको सँख्या २ हजार ९१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले शुक्रबार गराएको जानकारी अनुसार शुक्रबार सँक्रमित देखिएका २७८ जनामा २६७ पुरुष र ११ जना महिला रहेका छन् ।

डा. देबकोटाका अनुसार आज सबैभन्दा बढी कोरोना सँक्रमित ९१ जना दैलेखका पुष्टी भएको छ । थपिएका संक्रमितमध्ये ६४ जना महाबु गाउँपालिका र २७ जनामा दुल्लु नगरपालिकाको क्वारेन्टिनमा छन् । यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना र जाजरकोटको भेरी नगरपालिका–१० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा दुई संक्रमित थपिएका छन् । पञ्चपुरी गाउँपालिका–१ का १८ वर्षीय र सिम्टाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीका २१ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १२ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १० जना कचनकवल गाउँपालिकाका १० देखि २८ वर्षका पुरुष हुन् भने गौरादहका २० वर्षीय र गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङ रतुवामाईका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू १५ देखि ३० वर्षका छन् । भोजपुरमा पाँच जना संक्रमित थपिएका छन् । षडानन्द गाउँपालिकाका उनीहरू १७ देखि ३२ वर्षका छन् ।

यस्तै महोत्तरी जलेश्वरमा १७ जना संक्रमित भेटिएका छन् । उनीहरू १४ देखि ४५ वर्षका छन् । रौतहटको गुजरा क्वारेन्टिनमा रहेका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । धनुषा देवपुराका ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू २० र २१ वर्षका छन् । बारा बारागढी गाउँपालिकाका २६ र २७ वर्षीय पुरुष र विश्रामपुरका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सिन्धुलीको तीनपाटन क्वारेन्टाईनमा १ जना र कमलामाईको क्वारेन्टाईनका १ जनामा कोरोना सँक्रमण देखिएको छ । कमलामाई नगरपालिकाको क्वारेन्टाईनमा रहेका युवा पनि तिनपाटन गाउँपालिका भिमस्थानका हुन् ।
डा. देवकोताका अनुसार यता रामेछापमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू १७ देखि ४९ वर्षका छन् । यस्तै, काभ्रेमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये तीन जना रोशी गाउँपालिकाका हुन् भने पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक जना छन् ।

यसैगरी काठमाडौंको ह्याम्स अस्पतालमा हाल उपचार गराईरहेका गुल्मी चन्द्रकोटका ७६ वर्षीय पुरुष र कास्कीका ६० वर्षीय पुरुष बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. देवकोटाका अनुसार नवलपरासीका २१ र ३२ वर्षीय पुरुष, अर्घाखाँची सितागंगाका ३६ वर्षीय पुरुष र पाल्पाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू सबै यशोधराका हुन् । संक्रमित हुनेमा ८ महिने बालक समेत छन् । रुपन्देही, सैनामैनाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक ४८ महिला हुन् भने ११ जना १८ देखि ५० वर्षका पुरुष हुन् ।तनहुँ रिसिङका ३९ र ४० वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेलधुरा गन्यापधुराका ५ जना, कैलालीको धनगढीका ४ जना, अछाम साँफेबगरका २९ वर्षीय र बझाङ देउलेखका २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको पनि डा. देवकोटाले बताएका छन् ।

यस्तै शुक्रबार देशभरका क्वारेन्टाईनमा बस्नेको सँख्या आज १ लाख ६६ हजार ७६५ रहेका छन् । यस्तै आज आईसोलेसनमा उपचारमा २ हजार ५६८ जना रहेका छन् । हालसम्म ३३३ जना डिस्चार्ज भएका छन् । जसमा पुरुष २७२ र महिला ६१ जना रहेका छन् । आज मात्र ४३ जना डिस्चार्ज भएपछि डिस्चार्जको सँख्या ३३३ पुगेको प्रवक्ता डा. देवकोटाले बताए ।