ब्युटी न्युज नेपाल
बाँके, १९ जेठ
बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्युमाहरुको सनाखत भएको छ । मृतकहरुमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ । त्यस्तै २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
गएराती नेपालगन्जको सीमा नाका जमुनाहबाट सल्यान जाँदै गरेको ना५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । दुर्घटनामा परेरघाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
मृतक र घाइते भएका ३३ जनाकै कोरोना भाईरस परिक्षण गरिएको छ । सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पिसिआर परिक्षण गरिएको थियो । परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मृतकलाई आफन्तको जिम्मा लगाइने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।