सँक्रमण बढेपछि पर्सा र बारामा कफ्र्यु, सेना समेत परिचालन


ब्युटी न्युज नेपाल

बीरगञ्ज, ३० बैशाख

अहिले बेलुका ८ बजेटबाट जेठ ५ गतेसम्मका लागि बारा र पर्सा जिल्लामा कफ्र्यु (निषेधाज्ञा) जारी गरिएको छ । पर्सामा ६४ जनामा कोरोनाभाइरस र बाराका घर घर ग्यास पुर्याएका एक युवामा कोरोना पुष्टि भएपछि यी दुई जिल्लामा आज बेलुका ८ बजेबाट स्थानीय प्रशासन कफ्र्यु लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी सो निर्णय गरिएको हो ।

यो क्षेत्रमा कोरोना सँक्रमण बढ्न नदिन पर्सामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार एक बिज्ञप्ती मार्फत जनाएको छ । सो बिज्ञप्तिमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र  जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको उल्लेख  छ ।

पर्सामा मंगलबारमात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मंगलबार  साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । पर्सामा कही दिनबाट लकडाउनलाई वेवस्ता गर्दै सडकमा मानिसको भिड बढेको थियो । अब कफ्र्युमा खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने छ ।  तर पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने गर्नु सो बिज्ञप्तिमा जनाईएको छ । अहिलेसम्म पर्सामा ६४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

यस्तै पर्सासँगै बारामा पनि निषेधाज्ञा घोषणा गरिएको छ । पर्सामा सँक्रमण व्यापक देखिएको र बारामा पनि आज एक जनालाई सँक्रमण देखिएकाले उनको सम्पर्कमा रहेकाहरुको पहिचानसँगै उनीहरुको स्वाबको नमूना सँकलनतर्फ स्वास्थ्यकर्मीहरु जुटेका छन् । आज सँक्रमित भेटिएका युवा घर घरमा ग्यास पुर्याउन जाने व्यक्ति भएकाले उनको सम्पर्कमा आएका कतीपयले फोन गरेर स्वाब परिक्षणको अनुरोध समेत गरेका छन् ।