दिल्ली, एजेन्सी, २५ बैशाख
भारतको आन्ध्रप्रदेश स्थित बिशाखापटनमा भएको बिशाक्त ग्यास लिकका कारण अहिलेसम्म ८ जनाको मृत्य भएको छ । सैयौं मानिसहरु गम्भिर अबस्थामा छन् । त्यहाँ ८०० जनालाई अस्पताल भर्ना गरिएको छ ।
आन्ध्रप्रदेशका डिजिपी दामोदर गौतमका अनुसार आरएस बेंकटपुरम गाउँमा रहेको यो प्लान्टबाट ग्यास लिक भएको हो । ग्यास लिक भएका क्षेत्रका पाँच गाउँका मानिसलाई अहिलेसम्म अन्यत्र सारिएको छ ।
दक्षिण कोरियाको स्वामित्वमा रहेको त्यहाँको एलजी पोलिमर इन्डष्ट्रिजको ग्यास बिहिबार बिहानीपखबाट लिक भएको हो । सो उधोगको ४ किलोमिटर वरपरसम्मका मानिसहरु विहान ओछ्यानमै हुँदा धमाधम बिशाक्त ग्यासका कारण बेहोस हुन थालेका थिए ।
ग्यासको कारण आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, शरीर चिलाउने र पोल्ने, अनि बेहुस हुने जस्ता समस्या देखिएपछि बिरामीलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको हो । सो क्षेत्रका बासिन्दालाई उद्धार गर्न प्रशासनले तत्कालै त्यहाँ लक डाउन केहीसमयको लागि फुकुवा गर्नु परेको थियो ।
सो उधोगलाई स्थानीयले मुद्धा हालेका छन् । हाललाई सो उधोग सञ्चालनमा प्रदेश सरकारले रोक लगाएको छ ।
सो उधोगका बिशाक्त ग्यासको लिकलाई आज मध्यान्न १२ बजेपछिबाट नियन्त्रण गरिएको छ । सो क्षेत्रको ग्यासको असर कम हुन अझै केही दिन लाग्ने बताईएको छ । सो क्षेत्रमा ठुलो हुरीबतास आएको खन्डमा त्यहाँका ग्यास उडेर अन्यत्र जाने बताईएको छ । अहिले पनि सो क्षेत्रमा ग्यास मडारिरहेको छ ।