ब्युटी न्युज नेपाल
काठमाडौं, २४ वैशाख,
बीरगञ्जमा आज फेरी १७ जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको छ । यसपटक दुई महिनाका शिशुमा समेत कोरोना सँक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
यसै बिषयमा प्रवक्ता डा. देवकोटाले भने,‘आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको बीरगञ्ज पर्साबाट प्राप्त परिक्षणहरुमा थप १७ जनाको नमूना परिक्षण पोजेटिभ आएको छ । सबैजना पर्साका हुनुहन्छ । उमेरको हकमा २ महिनाको शिशु देखि ६६ वर्ष उमेरका रहनु भएको हामीलाई विवरण प्राप्त भएको छ । जसमा ७ जना महिला र १० जना पुरुषहरु हुनुहुन्छ ।’
यो सँगै नेपालमा कोरोना सँक्रमतिको सँख्या ९९ जना पुगेको छ । जसमध्य ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । बीरगञ्जमा बुधबार भेटिएका सँक्रमित एउटै परिवारका रहेका छन् ।यस अघि वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण् देखिएको थियो । उनलाई आइतबार मात्र कोरोना सँक्रमण पुष्टि भएको थियो । त्यसपछि उनका परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको हो । सोही परिक्षणमा बुधबार १७ जनामा कोरोना सँक्रमण देखियो । यसरी उनी सहित परिवार र आफन्त गरेर १७ जनामा कोरोना सँक्रमण देखिएको छ ।
बीरगञ्जमा बुधबार सँक्रमित भेटिएका १७ जनालाई उपचारको लागि नारायणी क्षेत्रीय अस्पतालको आईसोलेसनमा राखिने भएको छ ।