ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर
कुमार गजुरेल निर्देशित नेपाली चलचित्र ‘सारथी’ आज शुक्रबारबाट देशभरका चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रले मुलुक भरका चलचित्र घरमा करिब ८० भन्दा बढी सोहरु पाएको निर्माण पक्षले जनाएको छ । चलचित्र क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज जस्ता मल्टिप्लेक्स चेनसँगै अन्य फिल्म हलमा पनि रिलिज भएको छ ।
आज यो चलचित्र हेरेका दर्शकहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् । मुख्य गरेर दुई दशकपछि पर्दामा निरुता सिंह र उत्तम प्रदानलाई देख्दा दर्शकहरु हलमा उत्साहित भए । यसअघि सार्वजनिक सिनेमाको टिजर, ट्रेलर र अन्य प्रचार सामग्रीले पनि दर्शकमाझ उत्सुकता बढाइरहेको छ ।
त्यस्तै, लामो समयपछि लोकप्रिय ‘दर्पणछाया’ जोडी निरुता सिंह र उत्तम प्रधानलाई एउटै सिनेमामा देख्न पाउनु ‘सारथी’को अर्को प्रमुख आकर्षण बनेको छ । कुनै समय दर्शकको मन जित्न सफल यो जोडीको पुनर्मिलनले पुराना नेपाली सिनेमाका दर्शकमा समेत विशेष उत्सुकता थपेको छ ।
कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको सिनेमामा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
म्याग्दीको सुन्दर तर विकट गुर्जा गाउँको परिवेश र त्यहाँको जीवनकथालाई समेटेर निर्माण गरिएको ‘सारथी’ले स्थानीय जनजीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ । मौलिक परिवेश र मार्मिक कथावस्तु सिनेमाको मुख्य विशेषताका रूपमा रहेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माताका रूपमा छन् । अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् । सिनेमामा प्रशान्त शिवाकोटीको संगीत रहेको छ । सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ ।








