‘एक्का–३’को शुभमुहूर्त, पूजासहित सुशील र कविताको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर

नेपाली चलचित्र ‘एक्का–३’को शुभमुहूर्त गरिएको छ। ललितपुरस्थित कार्यविनायक मन्दिरमा बिहीबार पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तसँगै निर्माण टिमले चलचित्रको औपचारिक निर्माण प्रक्रिया सुरु गरेको छ।

जुना फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्नेछन्। चलचित्रमा अभिनेत्री पूजा शर्मा, अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री कविता नेपाली मुख्य भूमिकामा देखिने भएका छन्। यसै चलचित्रबाट आयशा तामाङले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्।

शुभमुहूर्त कार्यक्रममा अभिनेत्री पूजा शर्मा र कविता नेपाली मात्र उपस्थित थिए। निर्देशक तामाङका अनुसार चलचित्रको छायांकन आगामी मंसिर २५ गतेदेखि सुरु हुनेछ।

रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ चलचित्रका निर्माता हुन् भने राजु श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रमा पूजा, सुशील, कविता र आयशासँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् भने पटकथा तथा संवाद लेखनको जिम्मेवारी सुमन गजमेरले सम्हालेका छन्। चलचित्रमा अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत रहनेछ। सम्पादन तथा ट्रेलर निर्माण साहिल खानले गर्नेछन् भने एक्सन निर्देशन राजु किरतको रहनेछ। त्यस्तै, चलचित्रको निर्माण व्यवस्थापन रबिन बानियाँले सम्हाल्नेछन्।