‘अक्षरा’को ‘भाग्यले हो कि’मा न्यान्सी, सुशील र रिस्ताको भावुक सम्बन्ध


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असोज

असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को नयाँ गीत ‘भाग्यले हो कि’ सार्वजनिक गरिएको छ । प्रदर्शनको तीन दिनअघि सार्वजनिक गरिएको गीतले चलचित्रका प्रमुख पात्रबीचको भावनात्मक सम्बन्ध र उनीहरूले भोग्ने पीडालाई संकेत गरेको छ ।

रचना रिमालको स्वरमा रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा न्यान्सीलाई भावुक तथा पीडामा देखाइएको छ । ‘भाग्यले हो कि मलाई जिन्दगीले ढाँट्यो’ भन्ने भावले उनको पात्रले भोगिरहेको मानसिक तथा भावनात्मक अवस्थालाई प्रस्तुत गरेको छ । भिडियोमा सुशील र रिस्ता पनि भावुक देखिन्छन् ।

गीतले न्यान्सी, सुशील र रिस्ताबीचको सम्बन्धलाई लिएर दर्शकमा विभिन्न कौतुहलता सिर्जना गरेको छ । उनीहरूबीचको सम्बन्ध चलचित्रको कथामा कुन रूपमा जोडिएको छ र गीतमा प्रस्तुत गरिएको पीडाको वास्तविक कारण के हो भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ ।

निर्माण टिमले गीतमार्फत चलचित्रको भावनात्मक पक्षलाई दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ । विशेषगरी तीन प्रमुख पात्रको सम्बन्ध, प्रेम र उनीहरूले सामना गर्ने परिस्थितिको झल्को गीतको दृश्यमा देखाइएको छ ।

**‘अक्षरा’**मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायत कलाकारको अभिनय रहेको छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन् ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् । सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन् । चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन् ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रलाई दीपेन बस्न्यातले छायांकन गरेका हुन् । गौतम खड्काले सम्पादन गरेका छन् । नेपालमा चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

निर्माण टिमका अनुसार चलचित्र असोज २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ । प्रदर्शनको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भावनात्मक गीतले ‘अक्षरा’प्रति दर्शकको उत्सुकता थप बढाउने अपेक्षा निर्माण पक्षको छ ।