ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असोज
‘कबड्डी’ शृंखलामा काजीको प्रेम प्राप्त गर्ने संघर्ष अब नयाँ चरणमा प्रवेश गरेको छ । अघिल्ला शृंखलामा मैयाँलाई आफ्नो बनाउन काजीले गरेको प्रयास कथाको केन्द्रमा रहे पनि पाँचौँ भागमा भने प्रेम पाएपछिको जीवन र त्यससँग जोडिने पारिवारिक तथा सामाजिक जिम्मेवारीलाई कथाको मुख्य आधार बनाइएको अभिनेता दयाहाङ राईले बताएका छन् ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । पाँचौँ शृंखलामा काजीको जीवनमा प्रेमसँगै परिवार, साथीभाइ, समाज र व्यक्तिगत जिम्मेवारीले पार्ने प्रभावलाई प्रस्तुत गरिएको दयाहाङको भनाइ छ ।
उनका अनुसार काजीले यसपटक केवल प्रेम प्राप्तिका लागि संघर्ष गर्दैन । प्रेमसँगै सुरु हुने व्यावहारिक जीवनमा उसले विभिन्न पक्षसँग सम्झौता गर्दै अगाडि बढ्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
‘कबड्डी’को यात्रामा काजीको चरित्र पनि समयसँगै परिवर्तन हुँदै आएको दयाहाङले बताए । पहिलो भागमा प्रेम पाउन आतुर देखिएको काजी पाँचौँ भागसम्म आइपुग्दा जीवनका अन्य सम्बन्ध र जिम्मेवारीलाई पनि बुझ्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
मैयाँसँगको सम्बन्धले फेरि ल्याउनेछ काजीको मनमा हलचल
काजी र मैयाँको सम्बन्ध ‘कबड्डी’ शृंखलाको सुरुदेखिकै महत्वपूर्ण पाटो हो । पाँचौँ भागमा मैयाँसँगको सम्बन्धले काजीको जीवनमा फेरि भावनात्मक हलचल ल्याउने भए पनि यसपटक उसको सोच र प्राथमिकता पहिलेको भन्दा फरक हुने दयाहाङले बताए ।
उनका अनुसार एउटा निश्चित उमेरसम्म मानिस आफ्नो निर्णयमा स्वतन्त्र हुन चाहन्छ । तर जीवन अगाडि बढ्दै जाँदा परिवार, साथीभाइ र समाजसँगको सम्बन्धको महत्व पनि बढ्दै जान्छ । काजीको जीवनमा पनि त्यही परिवर्तनलाई कथाले समेटेको छ ।
‘हिजो प्रेम प्राप्त गर्नु थियो । अहिले प्रेमसँगै धेरै कुरालाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था छ,’ दयाहाङले भने, ‘काजीले आफ्नो सपना र सम्बन्धलाई जोगाउन परिवार, साथीभाइ र समाजसँग पनि सम्झौता गर्दै जान्छ ।’
मैयाँ अर्थात् आफ्नो ‘सोल्टिनी’सँगको पुरानो प्रेम पुनः जीवनमा फर्किएपछि काजीको मनमा स्वाभाविक रूपमा तरंग उत्पन्न हुने उनको भनाइ छ । तर त्यो भावनालाई केवल प्रेमकथामा सीमित नराखी जीवनका अन्य पक्षसँग जोडेर प्रस्तुत गरिएको उनले बताए ।
बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देखिने
‘कबड्डी ५’मा प्रत्यक्ष रूपमा राजनीतिक विषयलाई कथाको केन्द्रमा नराखिए पनि पछिल्लो समयको राजनीतिक परिवर्तनले पात्रहरूको जीवनमा पार्ने प्रभाव भने देख्न सकिने दयाहाङले बताएका छन् ।
उनका अनुसार समाजमा आउने राजनीतिक तथा सामाजिक परिवर्तनले मानिसका अपेक्षा, सपना र सोचमा प्रभाव पार्छ । काजीको जीवनमा पनि समयसँगै बदलिएको परिवेशले ल्याएको मनोदशालाई चलचित्रमा समेटिएको छ ।
‘दोस्रो भागमा जसरी राजनीतिक विषयलाई नै केन्द्रमा राखिएको थियो, पाँचौँ भाग त्यस्तो होइन,’ उनले भने, ‘तर राजनीतिक परिवर्तनसँगै मानिसमा आउने अपेक्षा, सपना र त्यसले सिर्जना गर्ने मनोदशा भने काजीको जीवनमा देखिन्छ ।’
काजीको जीवनमा साथीभाइको भूमिका पनि यसपटक महत्वपूर्ण रहनेछ । अघिल्ला शृंखलामा साथीहरूको उक्साहट र उनीहरूको व्यवहारले काजीको निर्णयमा प्रभाव पारेझैँ पाँचौँ भागमा पनि त्यस्ता प्रसंगले कथालाई अघि बढाउने दयाहाङको भनाइ छ ।
‘पाँचौँ भागसम्म आइपुग्दा काजी आफ्नै साथी जस्तो लाग्छ’
काजीको चरित्रसँग जोडिएको आफ्नो लामो यात्राका कारण उक्त पात्रप्रति विशेष अपनत्व विकास भएको दयाहाङले बताए ।
करिब १५ वर्षदेखि काजीको चरित्रसँग काम गर्दै आएकाले अहिले पर्दाको पात्रभन्दा पनि आफ्नै नजिकको साथी जस्तो अनुभूति हुने उनको भनाइ छ । लामो समय एउटै पात्रसँग यात्रा गर्दा त्यसको स्वभाव, संघर्ष र परिवर्तनसँग कलाकारको भावनात्मक सम्बन्ध जोडिनु स्वाभाविक रहेको उनले बताए ।
‘यति लामो समय काम गरिसकेपछि काजीलाई छोडेर जान्छु जस्तो लाग्दैन । अहिले त ऊ नजिकको साथी जस्तो लाग्छ,’ दयाहाङले भने ।
‘कबड्डी’को दोस्रो भाग निर्माणका क्रममा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफूलाई निकै चुनौती भएको उनले स्मरण गरे । तर त्यसपछि पात्रको यात्रालाई मानिसको वास्तविक जीवनमा आउने परिवर्तनसँग जोड्दै क्रमशः विकास गरिएको उनको भनाइ छ ।
‘दोस्रो भागमा काजीलाई कसरी अगाडि लैजाने भन्ने निकै कठिन लागेको थियो,’ उनले भने, ‘तर जीवनमा जसरी मानिस परिवर्तन हुँदै जान्छ, त्यसरी नै काजीको यात्रालाई पनि अगाडि बढाउँदै लगेका छौँ ।’
पाँचवटै शृंखलामा काजीले भोगेको करिब १५ वर्षको जीवनयात्रालाई पर्दामा अनुभव गर्न पाउनु आफ्ना लागि रमाइलो रहेको दयाहाङले बताए ।
काजीको कथा अझ अगाडि लैजाने दयाहाङको चाहना
काजीसँगको लामो सम्बन्धका कारण भविष्यमा पनि यही पात्र र ‘कबड्डी’का अन्य पात्रहरूको जीवनलाई अझ अगाडि बढाएर कथा भन्न सकिने दयाहाङको सोच छ ।
उनले काजी र अन्य पात्रहरूलाई वृद्ध अवस्थामा कल्पना गर्दै उनीहरूको जीवन कहाँ पुगेको होला भन्ने विषयमा समेत कथा बनाउन आफू इच्छुक रहेको बताए ।

‘यी पात्रहरू ६५ वर्षको हुँदा उनीहरूको मनोदशा कस्तो होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने ढंगको कथा बनाउन मन छ,’ उनले भने ।
निर्देशक रामबाबु गुरुङले त्यस्तो कथा नबनाए आफूले नै भविष्यमा त्यस्तो कथा निर्माण गर्ने सोच रहेको दयाहाङले बताए ।
लामो समय एउटै पात्रसँग काम गर्दा त्यसप्रति कलाकारको मोह बढ्दै जाने उनको अनुभव छ । काजीसँग जोडिएका वर्षौँका अनुभव र पर्दामा देखाइएको उसको जीवनयात्राले गर्दा उक्त पात्रप्रति आफूलाई विशेष माया लाग्ने उनले बताए ।
यस्तो छ ‘कबड्डी ५’को कलाकार र प्राविधिक टोली
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् ।
चलचित्रमा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) चलचित्रका निर्माता हुन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
सिनेमाका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन् । नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हालेको छ ।
‘कबड्डी’ शृंखलाको पाँचौँ अध्यायका रूपमा आउन लागेको यो चलचित्रले प्रेमपछि काजीको जीवनमा आउने पारिवारिक, सामाजिक र व्यक्तिगत परिवर्तनलाई कसरी प्रस्तुत गर्छ भन्ने कुरा भने कात्तिक ६ गतेपछि मात्रै स्पष्ट हुनेछ ।








