शान्तिश्री परियार र रबिन भुसालको स्वर रहेको ‘पिर मनैमा’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज

पूर्वी रुकुमको मौलिक भूगोल, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीलाई प्रेम र वियोगको कथासँग जोडेर तयार पारिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। सामान्य गीतको भिडियोभन्दा फरक शैलीमा निर्माण गरिएको यस म्युजिकल फिल्ममा प्रेम, पीडा र बिछोडका भावनालाई दृश्य कथामार्फत प्रस्तुत गरिएको छ।

बिग नेपाली फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा तयार भएको ‘पिर मनैमा’को छायांकन पूर्वी रुकुमका पाँचभन्दा बढी गाउँमा करिब सात दिन लगाएर गरिएको निर्माण पक्षले जनाएको छ। रुकुमका डाँडाकाँडा, गाउँबस्ती, स्थानीय परिवेश तथा प्राकृतिक दृश्यलाई कथाको भावअनुसार समेटिएकाले म्युजिकल फिल्ममा मौलिकता देखिन्छ।

गीतमा चर्चित गायिका शान्तिश्री परियार र रबिन भुसालको स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि रबिन भुसालकै रहेको छ। म्युजिकल फिल्ममा विशाल नेपाली र गीता ढुंगानासँगै अन्य कलाकारले अभिनय गरेका छन्।

‘पिर मनैमा’को निर्देशन विशाल नेपालीले गरेका हुन्। प्रेम र वियोगको कथालाई पात्र तथा परिवेशमार्फत अघि बढाइएको फिल्मले प्रेमलाई जीवनसँग मात्र नभई मृत्युले समेत सजिलै अलग गर्न नसक्ने गहिरो सम्बन्धका रूपमा चित्रण गरेको छ।

वास्तविक लोकेसनमा खिचिएका दृश्य, रुकुमको प्राकृतिक सौन्दर्य र मानवीय संवेदनालाई कथासँग जोड्नु म्युजिकल फिल्मको प्रमुख विशेषता रहेको निर्माण पक्षको भनाइ छ। प्राकृतिक दृश्यसँगै प्रेमको पीडा र बिछोडको भावलाई केन्द्रमा राखिएको ‘पिर मनैमा’ले दर्शकलाई फरक दृश्यात्मक तथा भावनात्मक अनुभूति दिने अपेक्षा गरिएको छ।