ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज
नेपाली वृत्तचित्र ‘द एभरेस्ट ड्रीम’ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा विशेष जुरी अवार्ड जितेको छ । निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेद्वारा निर्देशित तथा निर्मित वृत्तचित्रले स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको हो ।
सेप्टेम्बर २५ देखि २७ सम्म शिम्लास्थित ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा सम्पन्न महोत्सवमा ३३ देशका चलचित्र तथा वृत्तचित्र सहभागी थिए । अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले निर्देशक पाण्डेलाई अवार्ड प्रदान गरेका थिए ।
‘द एभरेस्ट ड्रीम’ले मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा विभिन्न चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रालाई कथाको केन्द्रमा राखेको छ । स्कटल्याण्डबाट सुरु भएको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रा गर्दासम्मका अनुभवलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्वाइभरसहित सात सदस्यीय टोलीले गरेको एभरेस्ट बेस क्याम्प यात्रालाई फिल्मले समेटेको छ । शारीरिक तथा मानसिक चुनौतीबीच पनि मानिसले नयाँ सपना देख्न र त्यसलाई पूरा गर्न सक्छ भन्ने प्रेरणादायी सन्देश वृत्तचित्रले दिन खोजेको छ ।
निर्देशक पाण्डेका अनुसार गम्भीर चोट वा कठिन परिस्थितिले जीवनमा अवरोध ल्याए पनि मानिसले नयाँ सपना देखेर त्यसलाई साकार पार्न सक्छ भन्ने फिल्मको मुख्य सन्देश हो ।
यसअघि ‘द एभरेस्ट ड्रीम’ले अमेरिकाको जर्जियामा आयोजित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्डसमेत जितिसकेको छ । शिम्लामा प्राप्त पछिल्लो सम्मानले नेपाली वृत्तचित्रको अन्तर्राष्ट्रिय यात्रामा अर्को उपलब्धि थपिएको छ ।






