सुमन दाहाल/ब्युटी न्युज नेपाल
ओहायो (अमेरिका), २१ सेप्टेम्बर
अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ओहायो च्याप्टरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। आइतबार, सेप्टेम्बर २० मा आयोजित विशेष समारोहबीच वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
राजु केसी र राहुल केसीको विशेष संयुक्त पहलमा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति र कलाकारिताको प्रवद्र्धन तथा नेपाली कलाकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत चर्चा गरिएको थियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रुपेश उप्रेती, उपाध्यक्षमा केशव पौडेल, महासचिवमा तुलराम अधिकारी र कोषाध्यक्षमा हेम फुयाल चयन भएका छन्।

त्यस्तै कार्यकारी सदस्यहरूमा डेबिड ढकाल, प्रकाश घिमिरे, शारदा धिताल, दुर्गा बान्तवा राई र डिल्ली चम्लागाईं रहेका छन्। सल्लाहकारमा पुष्प लुईटेल चयन भएका छन्।
नयाँ कार्यसमितिले ओहायोमा रहेका नेपाली कलाकार तथा कला–संस्कृतिसँग सम्बन्धित व्यक्तित्वलाई एकताबद्ध गर्दै नेपाली कला, संगीत, नृत्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
रुपेश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनियुक्त महासचिव तुलराम अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा ओहायोमा रहेका नेपाली कलाकार तथा कला क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।






