२६ विधामा प्रदान गरियो छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ ३ असोज

छैटौँ संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । स्टार वान इन्टरटेनमेन्ट प्रा.लि. र एस.बि. क्रिएसन प्रा.लि.द्धारा सांस्कृतिक संस्थान (नाचघर)मा आयोजित छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ मा विभिन्न २६ विधामा अवार्ड प्रदान गरियो ।

समारोहमा बरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, एसबि क्रियसनकी अध्यक्ष सरिता भारती लगायत अतिथिले आयोजकका तर्फबाट विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।

समारोहमा ओएसआर डिजिटललाई चलचित्र एवम् संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो ।,

यस्तै सामाजिक अभियान्ता अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियान्ता सम्मानबाट सम्मानित गरियो ।

बिर अस्पतालका सिनियर चिकित्सक रणजीत झा गीत संगीत तथा चिकित्सा सम्मानबाट सम्मानित भए ।

यस्तै चलचित्र निर्माता एवम् ब्यवसायी जस्मिन श्रेष्ठ र पुजा गुरुङ, समाजसेवी उर्मिला शेरचन (अनु) नारी सम्मानबाट सम्मानित भए ।

यस्तै कलाकार तथा व्यवसायी देबेन्द्र नेमवाङ, डान्स कोरियोग्राफर सरु ढुँगेल र ब्युटिसियन रेश्मा खत्री क्षेत्र पनि सम्मानित भए ।

समारोहमा गीत संगीत र म्युजिक भिडियो तर्फ १७ एवम् फेसन मोडलिङ तर्फ ९ विधामा अवार्ड प्रदान गरियो ।

समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड ‘किन रुन हुन्न’बाट प्रमोद खरेलले, आधुनिक गीत गायिकाको अवार्ड ‘तिम्रो आँखाको’बाट सोनी राजभण्डारीले हासिल गरे ।

यस्तै आधुनिक गीत रचनाकारको अवार्ड ‘किन रुनु हुन्न मर्दले’बाट राम शर्माले प्राप्त गरे ।

पप गीत गायन अवार्ड ‘गाजलु आँखैले’बाट आशिष पौडेलले अवार्ड हासिल गरे ।

चलचित्र गीत गायन अवार्ड चलचित्र उनको स्वीटरको ‘फकाउँछ काफ्ले’ बाट झुमा लिम्बूले र लोकगीत गायन अवार्ड ‘बुझे मैले’बाट राधा हमाल बानियाँले प्राप्त गरिन् ।

सोही समारोहमा नवोदित मोडलको अवार्ड ‘काली तरेर आउँछु’बाट राजन बुढाथोकीले प्राप्त गरे ।

आधुनिक गीत मोडलको अवार्ड ‘सधैँ तिमी’को भिडियोबाट प्रवण भुसालले हासिल गरे ।

महिला मोडलको अवार्ड ‘पालाम (पुरानो माया)’ बाट बुद्धरानी लिम्बूले, पपगीत मोडलको अवार्ड उमेश भट्टले र म्युजिक भिडियो छायाकारको अवार्ड ‘बुझे मैले’बाट ओमप्रसाद प्रसाईले हासिल गरे ।

यस्तै वर्षको सर्वाधिक लोकप्रिय आदिवासी गीतको अवार्ड ‘माङ्गेना लाजाम’ (लिम्बू भाषा)ले जित्यो भने आदिवासी गीत गायकको अवार्ड ‘पूर्वको मारुनी’ लिम्बू भाषा गीतबाट शम्भु फोम्बो लिम्बूले प्राप्त गरे ।

आदिवासी गीत गायिकाको अवार्ड ‘मिम्जिरे सावन’बाट – सञ्जु कांलिभा लिम्बूले हासिल गरिन् भने पालाम गीत गायन अवार्ड ‘ओ.बी. मेन्वी’बाट मञ्जु कांलिभा लिम्बूले र आदिवासी गीत गायन जुरी अवार्ड मीरा फियाक लिम्बूलेजितिन् ।

यस्तै आदिवासी म्युजिक भिडियो मोडलको अवार्ड ‘मिम्फुला, भाग–२’बाट दिलु पन्धाक मादेन, आदिवासी गीत रचनाकारको अवार्ड ‘यसपालिको साकेला’बाट अञ्जना राईले प्राप्त गरिन । समारोहमा नेपाल भाषा तर्फ संगीतकारको अवार्ड ‘खुसिया किनार’ गीतबाट राजु कर्माचार्यले र गीतकारको अवार्ड ‘चिकुलया तः खाः’बाट छत्रराज शाक्यले हासिल गरे ।

यस्तै फेसन तर्फ सर्वोत्कृष्ट फेसन डिजाइनरको अवार्ड भावना कुमारी धनुकले, सर्वोत्कृष्ट बुटिकको अवार्ड परी बुटिक, पुरानो बानेश्वरका लागि मितु अधिकारीले, सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिता मोडलको अवार्ड मिसेस युनिभर्स २०२६ रनर अप रोजी थापाले, सर्वोत्कृष्ट राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेताको अवार्ड ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’की बिजेता चाँदनी श्रेष्ठले, सर्वोत्कृष्ट फेसन एवम् इभेन्ट फोटोग्राफी अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले हासिल गरे । सर्वोत्कृष्ट इन्टेरियर डिजाईन फर्निचरको अवार्ड हिमालयन फर्निचर एन्ड सोफा फ्याक्ट्री, भक्तपुरका खड्ग थापाले प्राप्त गरे ।

समारोहमा ३६० स्टुडियोका बाल कलाकाहरुको नृत्य निकै आकर्षक थियो। यस्तै कलाकार प्रियँसु न्यौपानको नृत्य प्रस्तुत निकै प्रभावशाली थियो । गायक ओम सुनारले दुई वटा गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याए । नेपाल म्युजिक एन्ड फेसन अवार्डको निर्णायक अभिनेता एवम् मोडल यसराज गराच, गीतकार एवम् संगीतकार सुमन पन्डित र फेसन तर्फको निर्णायकमा गोमा अधिकारी धिताल थिईन् ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, सौन्दर्य उद्यमी संघकी अध्यक्ष एवम् बरिष्ठ ब्युटिसियन सोनी कारंजित, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, पर्यटनविद्ध अभिषेक बिक्रम शाह, अग्रज गायिका देबिका बन्दना, याक्थुङ लेखक संघकी अध्यक्ष शनी लिम्बुलगायतका अतिथिले समारोहमा अवार्ड प्रदान गरे ।