ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज
मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम प्रतिस्पर्धाका लागि २२ जना विवाहित महिला छनोट भएका छन्। देशका विभिन्न स्थानमा आयोजना गरिएको अडिसनबाट छनोट भएका उनीहरूलाई बिहीबार राजधानीमा आयोजित स्यासिङ समारोहमा ट्याग नम्बर र स्यास प्रदान गर्दै औपचारिक रूपमा प्रतिस्पर्धीका रूपमा सार्वजनिक गरिएको हो।
थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा सहभागी २२ प्रतिस्पर्धीले आफ्नो परिचयसमेत दिएका थिए। विभिन्न क्षेत्रका सफल तथा ख्यातिप्राप्त व्यक्तित्वले प्रतिस्पर्धीहरूलाई स्यास तथा ट्याग नम्बर प्रदान गरेका थिए। समारोहसँगै उनीहरूको करिब ४५ दिन लामो प्रशिक्षण तथा प्रतिस्पर्धात्मक यात्रा सुरु भएको आयोजक रिवन इन्टरटेनमेन्टले जनाएको छ।

यस वर्षको अन्तिम प्रतिस्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिस्पर्धामा छन्।
आयोजक रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता रहेको छ। गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम चरणमा पुगेका छन्।

अर्की आयोजक शिला बास्तोलाले पारिवारिक जिम्मेवारीसँगै विभिन्न क्षेत्रमा सक्रिय महिलालाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको बताइन्।
मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुनेछ। विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

यसै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा निशा बराइलीले सह–कोरियोग्राफी गर्नेछिन् भने सन्दीप भुजेलले नृत्य प्रशिक्षण दिनेछन्। गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा विभिन्न प्रशिक्षण सत्र सञ्चालन हुनेछन्। प्रशिक्षणपछि प्रतिस्पर्धीहरू ग्रान्ड फिनालेमा अन्तिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।






