ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज
नेपाली फिल्म ‘कबड्डी ५’ले प्रदर्शन मिति तय गरेको छ। बाँसुरी फिल्म्सले शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ गते अर्थात् अक्टोबर २३ मा ‘कबड्डी ५’लाई देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। यो मिति दशैंको टीकाको दुई दिनपछि पर्ने भएकाले फिल्मले दशैं बिदाको अवसरलाई लक्षित गरेको छ।
फिल्मको फर्स्टलुकमा ‘कबड्डी’ सिरिजका चर्चित पात्र काजी, बिके र छन्त्याललाई प्रस्तुत गरिएको छ। दयाहाङ राई काजीको भूमिकामा हातमा क्रिकेट ब्याट बोकेर सोचमग्न देखिएका छन् भने विजय बराल र बुद्धि तामाङ क्रमशः बिके र छन्त्यालको भूमिकामा देखिएका छन्। पोस्टरले तीन पात्रबीचको मित्रता र उनीहरूको नयाँ यात्राप्रति दर्शकको उत्सुकता बढाउने संकेत गरेको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको ‘कबड्डी ५’मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङसँगै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल र प्रमिला राईलगायत कलाकारको अभिनय छ।
फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता रहेका छन्। ‘कबड्डी’ नेपाली फिल्म क्षेत्रमा सफल फ्रेन्चाइजका रूपमा स्थापित भएकाले यसको पाँचौँ श्रृंखलालाई पनि दर्शकले चासोका साथ प्रतीक्षा गरिरहेका छन्।
यसअघि नै दशैंको अवसरमा ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शनमा आउने घोषणा भइसकेको छ। यी तीन फिल्म असोज ३० गते फूलपातीको अघिल्लो दिनबाट प्रदर्शनमा आउने तयारीमा छन्। त्यसको एक सातापछि ‘कबड्डी ५’ प्रदर्शनमा आउने भएपछि यस वर्षको दशैंमा नेपाली फिल्मको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।






