मनोहरा खोलामा बाढी, नदी किनारका बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिए


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ

सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढी आएको छ। पानीको बहाव एक्कासि बढेपछि नदी किनारका केही अस्थायी टहरा तथा बस्तीमा बाढीको पानी पसेको छ।

खोलाको सतह बढेर बस्तीमा पानी पस्न थालेपछि स्थानीयवासीमा त्रास बढेको थियो। जोखिम बढेपछि प्रहरीले खोला किनारमा प्रहरी परिचालन गरी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सारेको जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काका अनुसार हालसम्म बाढीबाट कुनै मानवीय क्षति भएको छैन।

बाढीका कारण नदी किनारमा रहेका केही टहरा जलमग्न भएका छन्। स्थानीयहरू घरबाट आवश्यक सामान निकालेर सुरक्षित स्थानतर्फ सरेका थिए। पछिल्लो समय वर्षा कम हुँदै गएपछि मनोहरा खोलाको पानीको बहाव पनि घट्न थालेको प्रहरीले जनाएको छ।

मनोहरा खोला आसपासका बस्तीमा यसअघि पनि बाढी तथा डुबानको जोखिम रहँदै आएको छ। नदी किनारका अस्थायी संरचना हटाउने अभियान सञ्चालन भए पनि केही क्षेत्रमा अझै अस्थायी टहरा तथा बस्ती रहेका छन्।

आज बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैले मनोहरा खोलासहित नदी तथा खोलाको किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र पानीको बहाव बढेमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।