डब्लुआरपीएफ नेपाल हिमालयन प्रो–२०२६ ले रच्यो पावरलिफ्टिङमा इतिहास


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ

नेपालमा पावरलिफ्टिङ खेलको विकास र विस्तारका लागि महत्वपूर्ण मानिएको ‘डब्लुआरपीएफ नेपाल हिमालयन प्रो–२०२६ राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै आयोजना गरिएको प्रतियोगिताले नेपाली पावरलिफ्टिङमा नयाँ अध्यायको सुरुवात गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडीले शक्ति, दृढता, अनुशासन र खेलभावनाको उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो संस्करणको हिमालयन प्रोमा डा. राजिब श्रेष्ठ पुरुषतर्फ र झरना योञ्जन महिलातर्फ ‘च्याम्पियन अफ द च्याम्पियन्स’ बन्न सफल भए। उनीहरू हिमालयन प्रोको पहिलो संस्करणका पुरुष तथा महिला समग्र च्याम्पियन बनेका हुन्।

प्रतियोगिताअन्तर्गत मास्टर्स र जुनियर विधामा समेत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समग्र विजेताको उपाधि प्रदान गरिएको थियो। मास्टर्स पुरुषतर्फ मनिष शाक्य र महिलातर्फ ईशा सिंह समग्र विजेता बने। त्यसैगरी जुनियर पुरुषतर्फ अनिश कुमार मुखिया र महिलातर्फ कल्पना खत्रीले समग्र विजेताको उपाधि हात पारे।

च्याम्पियनसिपमा विभिन्न तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। आ–आफ्नो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत उपाधि तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

डब्लुआरपीएफ नेपालकी अध्यक्ष तथा हिमालयन प्रो–२०२६ की आयोजक रसना प्रधानको नेतृत्वमा प्रतियोगिता आयोजना गरिएको हो। नेपाली पावरलिफ्टरका लागि व्यावसायिक, व्यवस्थित र राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक मञ्च निर्माण गर्ने उद्देश्यले हिमालयन प्रोको सुरुवात गरिएको आयोजकको भनाइ छ।

प्रतियोगिताको सफल आयोजनाले नेपालमा पावरलिफ्टिङ खेलको विकास, व्यावसायिकीकरण र विस्तारका लागि थप सम्भावनाको ढोका खोलेको आयोजकले जनाएको छ। यसबाट नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने थप अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष रसना प्रधानले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, पदाधिकारी, निर्णायक, प्रायोजक, साझेदार, स्वयंसेवक, सञ्चारकर्मी, समर्थक तथा आयोजक टोलीप्रति आभार व्यक्त गरिन्।

उनले हिमालयन प्रो खेलाडीको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै पहिलो संस्करणमा खेलाडीले देखाएको उत्साह र प्रतिबद्धताले आफूहरूलाई थप उत्साहित बनाएको बताइन्। उनका अनुसार प्रतियोगितालाई आगामी वर्ष अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउने तयारीसमेत अघि बढाइनेछ।

प्रतियोगिता सफल बनाउन आयोजक टोलीले खेलाडी समन्वय, प्राविधिक व्यवस्थापन, निर्णायक प्रक्रिया, लजिस्टिक्स, स्टेज व्यवस्थापन, आतिथ्यता तथा सञ्चार व्यवस्थापनलगायतका क्षेत्रमा काम गरेको थियो। निर्णायक, स्पटर तथा लोडर, स्वयंसेवक र विभिन्न सहयोगी संस्थाको योगदानले प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

आयोजकले हिमालयन प्रो–२०२६ मा सहभागी सबै खेलाडीलाई बधाई दिँदै उनीहरूको प्रत्येक प्रयास र प्रदर्शनले प्रतियोगिताको इतिहास निर्माणमा योगदान पुर्‍याएको जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताको सफलता कुनै एक व्यक्ति वा समूहको मात्र उपलब्धि नभई नेपाली पावरलिफ्टिङ समुदायको सामूहिक उपलब्धि हो।

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै डब्लुआरपीएफ नेपालले आगामी वर्ष आयोजना हुने हिमालयन प्रो–२०२७ लाई अझ ठूलो, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। हिमालयन प्रो–२०२६ लाई नेपाली पावरलिफ्टिङको विकास र व्यावसायिक यात्रामा महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ।