ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ
फेसन शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा अवार्ड–२०२६’ प्रदान गरिएको छ।
विभिन्न एसियाली राष्ट्रका प्रतिष्ठित व्यवसायी तथा व्यावसायिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ (सिजन–७) मा नेपालबाट शेर्पाले उक्त सम्मान प्राप्त गरेका हुन्। सेजन मिडिया प्रालिको आयोजनामा आइतबार काठमाडौँको कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शेर्पालाई अवार्ड प्रदान गरे।
एसियाली मुलुकका विभिन्न क्षेत्रमा सक्रिय व्यावसायिक तथा पेशागत व्यक्तित्वको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजित समारोहमा नेपालबाट फेसन शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै शेर्पालाई सम्मान गरिएको आयोजकले जनाएको छ। फेसन शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन तथा नेपाली फेसन क्षेत्रलाई व्यावसायिक र संस्थागत रूपमा अगाडि बढाउन पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

शेर्पाको नेतृत्वमा सञ्चालन हुँदै आएको आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले नेपालमा फेसन तथा इन्टेरियर डिजाइन शिक्षालाई व्यावसायिक, व्यावहारिक र सिर्जनशील ढंगबाट अघि बढाउँदै आएको छ। संस्थाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास, डिजाइन, सिर्जनशीलता, बजार व्यवस्थापन, उद्यमशीलता तथा फेसन उद्योगसँग सम्बन्धित विभिन्न पक्षमा प्रशिक्षण दिँदै आएको छ।
आईआईएफटीबाट हालसम्म हजारौँ विद्यार्थीले फेसन तथा डिजाइनसम्बन्धी शिक्षा र सीप हासिल गरिसकेका छन्। संस्थाले नेपाली फेसन उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै विद्यार्थीलाई आफ्नै सिर्जनशील व्यवसाय तथा व्यावसायिक करियर निर्माणका लागि समेत प्रोत्साहित गर्दै आएको छ।
अवार्ड ग्रहण गर्दै शेर्पाले प्राप्त सम्मानले आफूलाई फेसन शिक्षाको क्षेत्रमा अझ बढी जिम्मेवारी र उत्साहका साथ काम गर्न प्रेरित गरेको बताए। उनले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आईआईएफटीको सम्पूर्ण टोली, शिक्षक–शिक्षिका, विद्यार्थी, पूर्वविद्यार्थी तथा नेपाली फेसन उद्योगसँग आबद्ध सम्पूर्ण व्यक्तिको सामूहिक योगदानको सम्मान भएको बताए।
नेपालको फेसन शिक्षालाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउँदै नेपाली डिजाइनर तथा फेसन व्यवसायीलाई विश्व बजारसँग जोड्नुपर्ने आवश्यकता रहेको शेर्पाको भनाइ छ। शिक्षा, सीप, प्रविधि र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने दिशामा निरन्तर काम गर्ने उनले बताए।
शेर्पा लामो समयदेखि शिक्षा, फेसन, डिजाइन तथा व्यावसायिक क्षेत्रमा सक्रिय छन्। आईआईएफटीको नेतृत्वसँगै उनी शेर्पा ग्रुपका अध्यक्षका रूपमा विभिन्न व्यावसायिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ (सिजन–७) मा एसियाका विभिन्न राष्ट्रबाट सहभागी प्रतिष्ठित व्यवसायी तथा व्यावसायिक व्यक्तित्वलाई आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदान र उपलब्धिका आधारमा विभिन्न विधामा सम्मान गरिएको थियो। नेपालबाट ‘उत्कृष्ट फेसन शिक्षा’ विधामा फुपु तेन्जिङ शेर्पाले अवार्ड प्राप्त गर्नु नेपाली फेसन शिक्षा क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।






