महिला हिंसाविरुद्ध सशक्त सन्देश बोकेको तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ

महिला हिंसा, बलात्कार तथा छोरीहरूको असुरक्षाविरुद्ध सशक्त सन्देश प्रस्तुत गर्दै तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतले मनोरञ्जनसँगै सामाजिक चेतना अभिवृद्धिको प्रयास गरेको छ।

सलिना बिके, समिरा थपलिया र श्रेया राईको स्वर रहेको गीतमा फिरोज बस्नेतको शब्द तथा संगीत छ। गीतको संयोजन दीक्षित पौडेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्।

गीतको भिडियोमा पछिल्लो समय समाजमा बढिरहेका महिला हिंसा, बलात्कार र छोरीहरूको असुरक्षाजस्ता गम्भीर विषयलाई कथामार्फत प्रस्तुत गरिएको छ। विशेषगरी यस्ता घटनाले एउटी छोरीको जीवनमा पार्ने असरलाई मार्मिक ढंगले देखाउँदै ‘छोरी कहाँ सुरक्षित छन् ?’ भन्ने गम्भीर प्रश्न उठाइएको छ।

भिडियोको सुरुवातमा तीन चेली रमाउँदै नाचिरहेको दृश्य देखाइन्छ। उनीहरूको जीवनमा आइपर्ने अप्रिय घटनालाई भिडियोको अन्त्यतिर संवेदनशील रूपमा प्रस्तुत गरिएको छ। यसमार्फत समाजमा महिला तथा बालिकाको सुरक्षाका विषयमा सोच्न बाध्य पार्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ। अन्जान मोक्तानको कोरियोग्राफी रहेको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन्। पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेको भिडियोका प्रोजेक्ट म्यानेजर प्रवेश खत्री हुन्।