ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ भदौ
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक विपन्न गर्भवती महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ । बुधबार मध्यराति प्रसव पीडामा रहेकी महिलालाई अस्पतालले उपचार नदिएको र पैसा अभावका कारण बाहिर निकालिएकी हुन् । घटना विवरण अनुसार राजविराज १४, प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेकी थिईन् । मध्येरातमा अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको पीडितको दाबी छ ।
तर आफूहरुसँग २५ सय रुपैयाँ मात्र रहेकाले ७ सय रुपैयाँ अपुग भएपछि अस्पताल प्रशासनले उपचारमा आनाकानी गरेकै कारण ती महिलाले अस्पतालको गेटबाहिरै शिशुलाई जन्म दिनुपरेको उनीहरुको कथन छ । गरिबीकै कारण प्रसव पीडामा रहेकी महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएपछि सरकारी स्वास्थ्य सेवाको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ।
गजेन्द्र नारायण सिंह अस्पताल नेपाल सरकारअन्तर्गत सञ्चालनमा रहेको सरकारी स्वास्थ्य संस्था हो। अस्पतालले आफ्नो आधिकारिक विवरणमा बिरामीको सुरक्षा, मर्यादा, समयमै उपचार र सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राखिएको जनाएको छ। अस्पतालमा आकस्मिक सेवा २४ घण्टा सञ्चालन हुने व्यवस्था पनि रहेको छ ।
त्यसैगरी, नेपाल सरकारको स्वास्थ्यसम्बन्धी व्यवस्थाअनुसार विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यद्यपि, उक्त महिलालाई अस्पतालबाट किन बाहिर पठाइयो, उपचारका लागि रकम मागिएको थियो वा थिएन तथा घटनाको वास्तविक अवस्था के हो भन्नेबारे सम्बन्धित अस्पताल र स्थानीय प्रशासनको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।
घटनाबारे सत्यतथ्य छानबिन गरी दोषी देखिएमा जिम्मेवार पक्षमाथि कारबाही र पीडित महिलालाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग उठेको छ । यस बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले आवाज उठाउँदै घटनाका दोषीमाथि तत्काल कारवाही हुनु पर्ने माग गरेका छन् ।






