छायाँछवि तीज म्युजिक अवार्ड तत्काल आयोजना नहुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ

रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा मुलुक शोक र संवेदनाको अवस्थामा रहेकाले यस वर्षको ‘छायाँछवि तीज म्युजिक अवार्ड’ तत्काल आयोजना नहुने भएको छ।

छायाँछवि क्रिएसनको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्डको यस वर्ष १३औँ संस्करण आयोजना गर्ने तयारी भए पनि वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ।

नेपाली चलचित्र, गीत–संगीत तथा मनोरञ्जनका विभिन्न विधामा सक्रिय छायाँछवि क्रिएसनले नेपाली चलचित्र तथा संगीत क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ। तर, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि समग्र नेपाली समाज नै शोक र संवेदनामा रहेकाले यस्तो अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षमा पुगेको आयोजकको भनाइ छ।

अकस्मात् आएको बाढीका कारण धेरै नेपालीले ज्यान गुमाउनुका साथै ठूलो क्षति व्यहोर्नुपरेको भन्दै छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै अवार्ड कार्यक्रम तत्काल आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

छायाँछवि क्रिएसनले विपद्का कारण अकालमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। यद्यपि, हरेक वर्ष आयोजना हुँदै आएको नियमित कार्यक्रम भएकाले परिस्थितिका कारण समारोह तत्काल गर्न नसकिए पनि अवार्डको प्रक्रिया भने निरन्तर अघि बढाइने आयोजकले जनाएको छ। अवार्डको नतिजा यसै साता सार्वजनिक गरिनेछ।

सार्वजनिक नतिजाअनुसार पुरस्कृत हुने सर्जक तथा सिर्जनालाई केही समयपछि छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने छायाँछवि क्रिएसनले जनाएको छ। यसैबीच, यस वर्ष सिर्जना गरिएका तीज गीतहरू हालसम्म अवार्डका लागि दर्ता नगराइएको भए यथाशीघ्र दर्ता गराउन आयोजकले सम्बन्धित सर्जक तथा सिर्जनाकर्मीलाई अनुरोध गरेको छ।