डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले जितिन् मिस वर्ल्ड २०२६


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६’को ताज जितेकी छन् । भियतनामको न्हा ट्राङमा शनिबार सम्पन्न ७३औँ संस्करणको फिनालेमा विश्वभरका १११ प्रतिस्पर्धीलाई पछि पार्दै मोलाले प्रतिष्ठित उपाधि आफ्नो नाममा गरेकी हुन् ।

मोलाले अन्तिम चरणमा आफ्नो आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई जोड दिँदै दिएको प्रभावशाली जवाफसँगै प्रतियोगिताका विभिन्न चरणमा गरेको प्रदर्शनका आधारमा उपाधि हात पारेकी हुन् । उनले थाइल्यान्डकी अघिल्लो विजेता ओपाल सुचाता चुआङ्स्रीबाट ताज ग्रहण गरिन् ।

स्पेनकी एलिजाबेथ रेयनेस पहिलो रनरअप घोषित हुँदा मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बनिन् । अन्तिम ६ मा एरिट्रियाकी स्निट हाब्तेआब, स्पेनकी रेयनेस, मलेसियाकी चेट्टी, भियतनामकी ले गुयेन बाओ न्गोक, डोमिनिकन रिपब्लिककी मोलासहित दक्षिण अफ्रिकाकी रोमाण्डा होम्बिर पुगेका थिए ।

नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले भने अन्तिम ६ मा स्थान बनाउन सकिनन् । यद्यपि, उनले ‘ब्युटी विथ अ पर्पज’को एसिया तथा ओसियाना क्षेत्रको फाइनलिस्ट बनेर नेपालको उपस्थिति बलियो बनाइन् ।

लुनाले पर्वतको फलेवासमा सञ्चालन गरिएको दुना–टपरी परियोजनालाई आफ्नो सामाजिक अभियानका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेकी थिइन् । परियोजनाले स्थानीय महिलाका लागि आयआर्जनको अवसर, परम्परागत सीप संरक्षण तथा वातावरणमैत्री उत्पादनलाई जोड दिएको छ । सोही अभियानअन्तर्गत फलेवासमा विद्यार्थीका लागि आईटी पुस्तकालयसमेत स्थापना गरिएको मिस वर्ल्डको आधिकारिक विवरणमा उल्लेख छ ।

लुना ट्यालेन्ट राउन्डको २३ सदस्यीय फाइनलमा समेत पुगेकी थिइन् । हेड–टु–हेड, टप मोडल र स्पोर्ट्स विधामा भने नेपाल अगाडि बढ्न सकेन ।

यस संस्करणमा भारतकी निकिता पोरवालले पनि टप ४० सम्मको यात्रा तय गरिन् । मिस वर्ल्ड २०२६ को फिनालेसँगै अर्को संस्करण सन् २०२७ मा तान्जानियामा आयोजना हुने घोषणा गरिएको छ ।