‘झिंगे दाउ २’मा केकी र आँचलको जेठानी–देउरानी झगडा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ

असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ले तीजलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेको छ। फिल्ममा जेठानी र देउरानीको भूमिकामा रहेका केकी अधिकारी र आँचल शर्मालाई केन्द्रमा राखिएको ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको करिब ७ मिनेट लामो गीतमा जेठानी र देउरानीबीचको पारिवारिक द्वन्द्वलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा केकी र आँचल एकअर्कासँग दोहोरी खेल्दै झगडा गरिरहेको देख्न सकिन्छ।

 गीतमा एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्। तीजको माहोललाई ध्यानमा राखेर तयार पारिएको गीतको भिडियोमा केकी र आँचलबीचको नोकझोकलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। फिल्मको कथामा पनि उनीहरू जेठानी र देउरानीकै भूमिकामा रहेकाले गीतले फिल्मका दुई प्रमुख महिला पात्रबीचको सम्बन्ध र द्वन्द्वको झल्को दिने निर्माण पक्षले जनाएको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिंगे दाउ २’ कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन्। अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको लेखनमा गोविन्दु फुयाँल र शिशिर चालिसे पनि जोडिएका छन्। यसअघि सार्वजनिक गरिएको टिजरले दर्शकको ध्यान खिचिसकेको निर्माण पक्षको दाबी छ। फिल्मको ट्रेलर पनि केही दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।