ब्युटी न्युज नेपाल
काठमाडौँ, २० भदौ
नुवाकोटको बेत्रावतीमा बाढीले बगाएको घरको भग्नावशेषबाट चन्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ। बाढीले उनको घरसहित बगाएर मूल स्थानभन्दा करिब ५० मिटर पर पु¥याएको पाइएको छ।
स्थानीय नारायणलाल डंगोलका अनुसार चन्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो। बाढीले घर बगाएर आफ्नो घर रहेको स्थानबाट करिब ५० मिटर पर पु¥याएको र त्यही संरचनाबाट चन्डिकालाई प्रहरीले उद्धार गरेको उनले बताए।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बाढीले बगाएको घरको भग्नावशेषबाट मानिसको आवाज सुनिएपछि उद्धारका लागि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरी टोलीले खोजी तथा उद्धारको काम अघि बढाएको हो।
उद्धारपछि चन्डिकालाई उपचारका लागि छाउनी अस्पताल लगिएको उनका देवरले जानकारी दिए। उनका श्रीमान् भने अझै सम्पर्कविहीन छन्।
यसअघि शनिबार नै अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको उद्धार गरिएको थियो। त्यसैगरी, शुक्रबार त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो।
बाढीका कारण रसुवागढीदेखि धादिङको गलौंदीसम्म ठूलो क्षति पुगेको छ। धेरै घर पुरिएका, पल्टिएका तथा बगेका छन्। चन्डिकाको जीवित उद्धारपछि बाढीले क्षति पु¥याएका घरका भग्नावशेषमा पनि मानिस फसेको हुनसक्ने भन्दै खोजी तथा उद्धारलाई थप तीव्र बनाउनुपर्ने देखिएको छ ।






