ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ
भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षले चलचित्र प्रदर्शनपछि हलबाट निर्माताको भागमा प्राप्त हुने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ।
सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत खान्दानी परिवारको केटासँग जबर्जस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई मुख्य विषय बनाइएको छ। मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित चलचित्रको ट्रेलरले नेपाली समाजमा विद्यमान पारिवारिक र सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायत कलाकारको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।
निर्माता उग्रसेन ढुङ्गानाको मूल कथामा आधारित चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ।
दिपेन बस्न्यातको छायांकन, गौतम खड्काको सम्पादन तथा साहिल खानको टिजर र ट्रेलर कट रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ।
नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। ‘अक्षरा’ भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।






