ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ
भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कामदार फसेको आशंकामा सुरु गरिएको खोज तथा उद्धार कार्य सातौँ दिनसम्म पनि जारी छ। पछिल्लो तीन दिनदेखि नेपाली सेना, आयोजनाका प्राविधिक तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी गरिरहेको भए पनि हालसम्म फसेका कामदारबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन।
नेपाली सेनाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेना र आयोजनाका इन्जिनियरसहितको टोली २७५ मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। उद्धार कार्यलाई थप तीव्र बनाउन हेभी मेसिन तथा एक्स्काभेटर सुरुङ क्षेत्रमा लैजाने तयारी भइरहेको सेनाले जनाएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा माउन्टेन एसोसिएसन तथा विदेशी विज्ञसहितको टोली करिब १५० मिटरसम्म पुगेको छ। सुरुङ बन्द अवस्थामा भेटिएपछि साउन्ड डिटेक्टरमार्फत निगरानी भइरहेको छ।
अपर त्रिशूली–१ आयोजनाको सुरुङको मुख ढुंगाले छेकेका कारण उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाइ भएको छ। हाकुबेँसीतर्फ विदेशीसहितको संयुक्त टोली २६० मिटरसम्म पुगे पनि हालसम्म कुनै व्यक्ति वा कामदार फेला परेको छैन। मेन टनेलबाट २५ मिटर, एक्सेस टनेल–१ बाट करिब १५० मिटर र एक्सेस टनेल–२ बाट करिब २० मिटर अघि बढ्दा २६ मिटर पानी रहेको डिसेन्डर बेसिन भेटिएको र त्यसको अगाडिको भाग बन्द अवस्थामा रहेको सेनाले जनाएको छ।
त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले चारवटा स्काभेटर र एक बबक्याट प्रयोग गरी सुरुङमा थुप्रिएको माटो हटाइरहेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोगबाट अवरोध हटाउने काम भइरहेको छ। टनेलको आउटलेटतर्फ लेदो भरिएको अवस्थामा रहेकाले बबक्याटबाट माटो हटाउँदै अगाडि रहेको चट्टान ब्लास्टिङ गर्ने कार्य जारी छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी बबक्याटको सहयोगमा क्याम्प एरियालगायतका स्थानमा खोजी गरिरहेको छ।
बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा ठूलो क्षति पुगेकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्र थुप्रिएको लेदो, ढुंगा, पानी तथा अन्य अवरोधका कारण उद्धार टोलीले सावधानीपूर्वक चरणबद्ध रूपमा खोजी अघि बढाइरहेको नेपाली सेनाले जनाएको छ।






