भोटेकोशी–त्रिशूली बाढीका पहिचान नखुलेका ६६७ शव व्यवस्थापन 


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका व्यक्तिका शव सरकारले कानुनअनुसार वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिरहेको छ। सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ जारी गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाएको हो।

उपलब्ध विवरणअनुसार हालसम्म रसुवामा ६, काठमाडौँमा ४७, चितवनमा २९२, धादिङमा २५, गोरखामा ३९, तनहुँमा १५, नवलपरासी पूर्वमा १७४ र नवलपरासी पश्चिममा ६९ वटा शव व्यवस्थापन गरिएको छ। यी जिल्लामा व्यवस्थापन गरिएका शवको कुल संख्या ६६७ रहेको छ।

पहिचान खुल्न नसकेका शवलाई सम्बन्धित प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिँदैछ। तर शव व्यवस्थापनअघि फोटो, हुलिया, कपडा तथा साथमा भेटिएका सामग्रीलगायत विवरण अभिलेखमा राख्ने र डीएनए नमुना सुरक्षित गर्ने व्यवस्था गरिएको छ। शवलाई छुट्टाछुट्टै संकेत वा कोड नम्बर दिएर व्यवस्थापन गरिएको स्थानको विवरणसमेत अभिलेख राखिने प्रहरीले जनाएको छ।

भविष्यमा आफन्तले दाबी गरेमा डीएनए, पोस्टमार्टम तथा अन्य वैज्ञानिक प्रमाणका आधारमा पहिचान गर्न सकिने गरी अभिलेख सुरक्षित राखिएको छ। यसबाट शव व्यवस्थापनसँगै मृतकको पहिचान खुलाउने सम्भावनासमेत कायम राखिएको सरकारी निकायले जनाएको छ।