भोटेकोशी–त्रिशूली बाढीपछि बेपत्ता मध्ये मंगलबार ११९ जनाको उद्धार


ब्युटी न्युज नेपाल
गोरखा, १६ भदौ

भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेनाले मंगलबार हवाई साधनमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको जनाएको छ।

नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको छ।

बाढीपछि विभिन्न हाइड्रोपावर आयोजनामा काम गर्ने केही व्यक्ति सम्पर्कविहीन रहेको आशंकामा सेनाले आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी तीव्र पारेको छ।

चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी नागरिकसहित २६ जनाको संयुक्त टोली करिब १५० मिटरभित्र पुगे पनि सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएपछि थप अघि बढ्न नसकेको जनाइएको छ। अपर त्रिशूली–१ को हाँकूस्थित सुरुङमा पनि खोजी टोली करिब १६० मिटरसम्म पुग्दा सुरुङ टालिएको अवस्थामा फेला परेको छ।

त्रिशूली–३ ‘ए’ को इनलेट सुरुङमा अत्यधिक पानी भरिएपछि आउटलेटतर्फबाट पुनः होल पारेर खोजी कार्य जारी छ। यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी एक्साभेटरमार्फत पहुँचमार्ग निर्माण भइरहेको सेनाले जनाएको छ।

उद्धारसँगै सेनाले धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३ ‘ए’ क्षेत्रमा २ हजार ५०० किलो राहत सामग्रीसमेत ढुवानी गरेको छ।