ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ
भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ । नेपाल प्रहरीका अनुसार भदौ १६ गते मंगलबार दिउँसो २ बजेसम्म बाढी प्रभावित विभिन्न क्षेत्रबाट १ हजार ५८ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष रहेका छन् । थप ३९० शव आंशिक अवस्थामा फेला परेका छन् । बाढीले बगाएर ल्याएका शवहरू रसुवादेखि नुवाकोट, धादिङ हुँदै चितवन, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा भेटिएका छन् ।
प्रहरीका अनुसार फेला परेका १ हजार ५८ शवमध्ये ९७२ शवको लास जाँच मुचुल्का गरिएको छ । हालसम्म ५८ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ । पहिचान खुल्न नसकेका ६८४ शवलाई आवश्यक प्रमाण सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
बाढीमा परी अझै ४ हजार ६०६ जना सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांक छ । नदी किनार, बाढीले पुरिएका बस्ती, जलविद्युत् आयोजनाका संरचना तथा विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको छ । बाढीमा बगेर तलतिर पुगेका कारण चितवन, नवलपरासीलगायत जिल्लामा ठूलो संख्यामा शव भेटिएका छन् ।






